रोष्टममै ‘ढलेँ ढलेँ’ गीत गाएका ओलीलाई असिम शाहले सम्झाए डा. भोला रिजालको गीत

रोष्टममै ‘ढलेँ ढलेँ’ गीत गाएका ओलीलाई असिम शाहले सम्झाए डा. भोला रिजालको गीत
फाइल तस्बिर

काठमाडौं : संसदको रोष्टममा ‘ढलेँ ढलेँ’ गीत गाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् असिम शाहले डा. भोला रिजालको गीत स्मरण गराएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद् शाहले डा. भोला रिजालको रचनामा स्वरुपराज आचार्यले गाएको ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेउ, सपूत छौ कि कोही माझी बचाइदेउ’ गीतको स्मरण गराएका हुन्।

जनताले डा. रिजालको यो गीत गाइरहे पनि सरकार सुन्न नचाहेको भन्दै उनले प्रधानमन्त्री टिकटकरसँग व्यस्त भएको आरोप लगाए।

उनले भने, ‘स्वरुपराज आचार्यले गाएको यो गीत सरकार सुन्नै चाहँदैन। किनकी प्रधानमन्त्री संसदको रोष्टममा आएर ‘ढलेँ ढलेँ’ गीत सुनाएर जानुहुन्छ। आजकल टिकटकरहरूसँग अलि व्यस्त हुनुहुन्छ।’

नयाँ सरकार बनेको महिनौँ भइसक्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै उनले पारदर्शीता र जवाफदेहिताको नारा घन्काउनेहरू यसबारेमा किन मौन बसेको भन्दै प्रश्न गरेका छन्।

‘मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइलहरू खुल्ने आशा गर्नु बेकार नै हो त?’

यसका अलावा सांसद् शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न, भ्रष्टाचारीहरूलाई कानूनी कठघरामा उभ्याउन र सानो–ठूलो सबै काण्डको छानविन गर्ने स्वतन्त्र शक्तिशाली आयोग गठन गर्न समेत आग्रह गरेका छन्।

माघ २९, २०८१ मंगलबार १४:१४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।