पाथीभरा केबलकारको आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच भेट, वार्ताबाट समाधान खोज्न आग्रह

पाथीभरा केबलकारको आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच भेट, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार साँझ गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने बताएका हुन्।

यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबिच आइतबार भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि सोमबार आन्दोलनरत पक्षले गृहमन्त्रीसँग भेटघाट गरेका थिए। भेटमा एमाले नेता योगेश भट्टराई सहित आदिवासी जनजातिका नेताहरू समेत सहभागी थिए।

‘आज साँझ उहाँहरू गृहमन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो। मन्त्रीज्यूबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आग्रह भएको छ’, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताउनुभएको थियो।’

छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको तिवारीले जानकारी दिए।

माघ २८, २०८१ सोमबार २२:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।