उकेरा टप फाइभ : 'सारङ' फिल्मको समीक्षादेखि स्वास्थ्यमन्त्री पौडेलको घोषणा र वास्तविकतासम्म

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक-२०८०’ पारित गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो।
त्यसैगरी प्रतिनिधि सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ। सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए। उनले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिए।
गिरीबन्धु टी स्टेटको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। अर्यालको निवेदनमा गत वर्षको माघ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले ‘अनवरत रूपमा अवरोध सिर्जना गरेको’ उल्लेख गरिएको छ।
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका-६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए। पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्।
सर्लाहीमा अन्तर्जातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दलितका लागि दलित अभियानका संयोजकसमेत रहेका सुनारलाई सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीको अदालतले तत्कालीन सञ्चालक छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो।
सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश वसिष्ठकुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। इजलासले पछि ठहरेबमोजिम हुने गरी जोशीलाई तत्कालका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशमा प्रतिवादीले जानी जानी कसुर नगरेको आधार नदेखिएको उल्लेख छ।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
काठमाडौँमा एउटा ठुलो घर भएको परिवारको एक मात्र सन्तान दर्पणको कथामा केन्द्रित फिल्म 'सारङ' ले नेपाली समाजमा बढ्दो पारिवारिक विघटन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको कथा बोकेको छ। प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म शुक्रवारदेखि प्रदर्शनमा आएको हो।
फिल्मको मूल कथा अमर निरौला (उत्पल झा) र श्वेता निरौला (ऋचा शर्मा) को दाम्पत्य जीवनमा आएको खटपट वरिपरि घुम्छ। श्रीमान् अफिसकी एक युवतीसँग लागेको शङ्का भएपछि श्वेता डिभोर्सको तयारीमा छिन्। आफन्तहरूको उक्साहटले उनको निर्णय झनै दृढ बन्दै गएको छ। यता अमर भने सम्बन्ध जोगाउन चाहन्छन्, तर श्रीमतीको निर्णय अडिग छ। यही वैवाहिक तनावको बिचमा पिसिएको छ उनीहरूको छोरा दर्पण। यही वरिपरी फिल्मको कथा घुमेको छ। प्रस्तुत छ, 'सारङ' फिल्मको समीक्षा।
पूरा समाचार: फिल्म समीक्षा: 'सारङ' - बालमनोविज्ञानको सूक्ष्म चित्रण, तर शिथिल कथागति
हिमालपारिको बस्ती भनेर चिनिँदै आएको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा जाने पर्यटकहरू प्राय यहाँका स्थानीय लाक्पाढुण्डुप लामासँग ठोक्किन्छन् नै। भोटेली पोसाकमा चिटिक्क परेर बस्ने उनी भेट हुनेसँग प्राय चुमनुब्री गाउँपालिका–४ पोरमा रहेको आफ्नो स्याउ फार्मबारे बयान गर्छन्। अनि स्याउका विभिन्न परिकार चखाउन अघि सर्छन्।
हाँस्दाहाँस्दै तीन सय रोपनीमा फैलिएको स्याउ फार्म डुलाउन लगिहाल्छन्। केही समयअघि मनास्लु क्षेत्र पुग्दा यिनको यही व्यवहार देखेर आन्तरिक अनि बाह्य पर्यटकहरू आकर्षित भइरहेका थिए। नामरुङ गाउँमा गुम्बा शैलीमा ठुलो होटल छ। उनी यही होटलको सञ्चालक हुन्।
पूरा समाचार: सिंगापुरको व्यापार छाडेर नामरुङ छिरेका लाक्पाढुण्डुप जसले मनास्लुको प्रतिबन्ध खुलाउन सिंहदरबार घेर्न पुगे
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकातर्फ निःशुल्क उपचारको घोषणाको बाढी नै ल्याएका छन्। उनले निःशुल्क उपचारको घोषणा गरेका शीर्षकहरू हेर्ने हो भने दर्जन नाघिसक्यो। कार्यान्वयन पक्ष कस्तो छ त? सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको अवस्था नै काफी होला।
शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले १५ वर्ष मुनिका बालबालिकाको मुटुसँग सम्बन्धित शल्यक्रियालगायतको उपचार निःशुल्क गर्दै आएको थियो। मन्त्रालयले दिनुपर्ने आर्थिक स्रोत रोकिँदा चार महिनादेखि निःशुल्क उपचार रोकिएको छ।
पूरा समाचार: स्वास्थ्यले ५० करोड भुक्तानी नदिँदा गंगालालमा १५ वर्ष मुनिकाको मुटुको निःशुल्क शल्यक्रिया रोकियो, प्रतिविरामी २ लाख ४० हजार मात्र छुट
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ।
उच्च सरकारी वकिल कार्यालयले सोमबार लामिछानेसहित निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा, वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा र गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध २९ पृष्ठको निवेदन दायर गरेको हो।
पूरा समाचार: रविसहितको धरौटी रद्द गरी थुनामा राख्न माग गर्दै निवेदन, २९ पृष्ठको प्रमाण पेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा आयात हुने सबै स्टील र आल्मुनियममा नयाँ कर लगाउने बताएका छन्। आइतबार आधिकारिक घोषणा गरिएको यो नयाँ कर सोमबारबाट लागू हुनेछ। ट्रम्पले २५ प्रतिशत कर लगाउने कुरा गरेका छन्। ट्रम्पले भने कि, ‘यदि उनीहरूले (अन्य देशहरूले) हामीमाथि कर लगाए भने, हामी फेरि कर लगाउनेछौँ।’ ट्रम्पको नयाँ कर सबै देशहरूमा लागू हुनेछ। यसबाहेक, उनले मंगलबार वा बुधबार पारस्परिक करको पनि घोषणा गर्नेछन्।
पूरा समाचार: स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, क्यानडालाई अमेरिकी राज्य बनाउनेबारे फेरि बोले
माघ २८, २०८१ सोमबार २१:४६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।