सिंगापुरको व्यापार छाडेर नामरुङ छिरेका लाक्पाढुण्डुप जसले मनास्लुको प्रतिबन्ध खुलाउन सिंहदरबार घेर्न पुगे

सिंगापुरको व्यापार छाडेर नामरुङ छिरेका लाक्पाढुण्डुप जसले मनास्लुको प्रतिबन्ध खुलाउन सिंहदरबार घेर्न पुगे

काठमाडौँ : हिमालपारिको बस्ती भनेर चिनिँदै आएको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा जाने पर्यटकहरू प्राय यहाँका स्थानीय लाक्पाढुण्डुप लामासँग ठोक्किन्छन् नै। भोटेली पोसाकमा चिटिक्क परेर बस्ने उनी भेट हुनेसँग प्राय चुमनुब्री गाउँपालिका–४ पोरमा रहेको आफ्नो स्याउ फार्मबारे बयान गर्छन्। अनि स्याउका विभिन्न परिकार चखाउन अघि सर्छन्।

हाँस्दाहाँस्दै तीन सय रोपनीमा फैलिएको स्याउ फार्म डुलाउन लगिहाल्छन्। केही समयअघि मनास्लु क्षेत्र पुग्दा यिनको यही व्यवहार देखेर आन्तरिक अनि बाह्य पर्यटकहरू आकर्षित भइरहेका थिए।

नामरुङ गाउँमा गुम्बा शैलीमा ठुलो होटेल छ। उनी यही होटेलको सञ्चालक हुन्। नामरुङको सबै भन्दा ठुलो होटेलको परिचय बनेको रहेछ उनको होटेल। नामरुङमा उनको राम्रै प्रभाव देखियो।

ट्रेकिङ सिजनमा नामरुङमै हुने उनी हिउँदमा भने काठमाडौँको स्वयम्भू पुग्ने गर्छन्। धेरैजसो अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित भइरहेको यस क्षेत्रमा उनी सकेसम्म ‘लोकल प्रोडक्ट’ नै चखाउने प्रयास गर्छन्।

त्यसैले उनले होटेलको डिजाइन पनि स्थानीयपन झल्काउन गुम्बा शैलीमा बनाएका छन्। तर होटेलमा सकेसम्म राम्रै सुविधाहरू राखेका छन्। खच्चड-हेलिकप्टरबाटै सामान ल्याएर पनि उनले होटेलमा क्याफेदेखि बेकरी र स्पासम्म राखेका छन्।

‘पर्यटक आउने तर राम्रो सर्भिस दिन सकेन भने, यहाँको लोकल खाना, बसाइ र ठाउँबारे जनकारी दिन सकिएन भने पर्यटक आएको के अर्थ! ,’ उनले भने ‘ मलाई इको टुरिजमलाई प्रोत्साहन गर्न मन छ।’  

उनी अधिकांश समय होटेल र स्याउ फार्ममै व्यस्त हुने रहेछन्। स्याउबाट बन्ने जुसदेखि रक्सी, सुकुटी, केक, चिया सबै बनाउने गरेका छन्। जब यताको सिजन सकिन्छ अनि उनी चितवन झर्छन्। हिमाल र तराइ जोड्ने भन्दै उनले त्यहाँ पनि होटेल खोलेका रहेछन्। चितवनको होटेलको नाम चैँ ‘मुनाल एन्ड मयूर’ राखेका रहेछन्। मुनाल हिमालको परिचय अनि मयूर मधेसको। 

‘भिआइपी गेस्ट’हरूको लागि उनले होटेल परिसरमा हेलिप्याड समेत बनाएका छन्। लगातारको वर्षा भएको समयबाहेक अन्य सबै सिजनमा पर्यटकको लागि यो क्षेत्र उपयुक्त हुने उनी बताउँछन्।

अहिले विदेशीसँगै नेपाली पर्यटकहरू पनि बढ्न थालेकोले उनी खुसी देखिए। गोरखा भन्ने बित्तिकै ‘गोरखा बजार’लाई मात्र बुझिने गरेकोमा यहाँका स्थानीयहरू केही असन्तुष्ट पनि सुनिए।

कपडा व्यापारीदेखि होटेलको सञ्चालकसम्म!

नेपालमा उनी सक्रिय हुनुभन्दा अगाडि विदेशतिर लम्किए। १६/१७ वर्ष सिंगापुर, थाइल्यान्डदेखि जापान, चीन, कोरियासम्म बिताए। अनि नेपाल फर्किए। स्वयम्भूको चौतारामुनि टेबलमा बसेर कपडा बेचेका उनी रातारत अन्तर्राष्ट्रिय व्यापारी भने भएका होइनन्।

उनी आफ्नो बुढा बा’सँग हिउँद छल्न काठमाडौँ आएका थिए। स्कुल कस्तो हुन्छ उनले थाहै पाएनन्। हिउँद छल्न काठमाडौँ जाँदा उनको बा’ले केही जडीबुटी पोको पारेर लान्थे। त्यसकै व्यापार गरेर बस्ने अनि स्वयम्भू, बौद्धको दर्शन गरेरै हिउँद कट्थ्यो।  

त्यही बेला उनले न्युरोडमा व्यापारको चहलपहल देखे। ११ वर्षको ‘फुच्चे’ लाक्पालाई त्यहाँ व्यापारीहरूले थानकाथान कपडाहरू बेच्न राखेको देखेर अचम्म लाग्यो। आफूले पनि त्यसरी नै कपडा बेच्न सकिन्छ कि भनेर बुझे।

‘त्यहाँ एक जनाकै घरमा धेरै कपडा देखेँ। मैले म पनि बाटोमा बेच्ने काम गर्छु भने,’ उनले सुनाउँदै गए,‘स्वयम्भूमा त्यसबेला धेरै पसल थिएन। पुरै जङ्गल त हो। अहिले सोच्दा त्यो मैले सामान लिएको ठाउँ न्युरोड पो रहेछ।’

हिउँद सकिएसँगै उनी गाउँ फर्किए। तर उनलाई व्यापारको लत लागिसकेको थियो। हिमाल उक्लिने बित्तिकै उनी आफ्नो साथीसँग तिब्बत गए। चीनको सिमानासँग नजिक रहेको यहाँका गाउँलेहरू पहिले सजिलै तिब्बत छिर्थे। अहिले त धेरै सोधपुछ हुने, र कहिले फर्किएरै आउन पर्ने समेत उनले बताए।

त्यस बखत उनले तिब्बतबाट दुई सय ५० वटा भेडा-च्याँगा लिएर गाउँ आए। त्यसपछि लाक्पा नुनको व्यापारी समेत भए। यहाँबाट लार्केपास हुँदै उनी मनाङ-मुस्ताङसम्म पुगेर व्यापार गर्थे।

हिउँदमा कपडाको व्यापार अनि अरू समयमा भेडा, च्याङ्ग्रा, नुन र जडीबुटीको व्यापार गर्दागर्दै उनले विदेशी भाषा समेत जाने। नेपाली समेत बोल्न अप्ठ्यारो हुने उनलाई अङ्ग्रेजीसँगै सिंगापुर, चीन, तिब्बत, ताइवानसम्मको भाषा बोल्न आउँछ।

‘हाम्रो यही घर नजिकै चौकी थियो। नेपाली त्यहाँको मान्छेहरूसँग सिकेको,’ उनले हाँस्दै भने। 

१७ वर्षको उमेरसम्म कहिले काठमाडौँ त कहिले तिब्बत गर्दै व्यापार गरेका उनले त्यसपछि आफ्नो १७ वर्ष सिंगापुरमा बिताए। त्यहाँ पनि उनले व्यापार नै गरे। त्यहीबेला सिंगापुर नागरिकसँग बिहे समेत भयो उनको। दुई जना सन्तान पनि त्यहीँ जन्मिए। उनको दुई सन्तान त्यहीँको नागरिक भए।

मनास्लु क्षेत्र।

मनास्लु क्षेत्र।
उनी थाइल्यान्डको फुकेट पुगे। त्यता कपडा डिजाइन गर्दै अन्य देशमा सप्लाई गर्थे। उनले विशेष धार्मिक कपडाहरूको डिजाइन गर्थे। उनी एकाएक सन् २००८ मा नेपाल फर्किए। 

‘संसार देखेँ। विदेश के हो भनेर थाहा भयो। अनि हाम्रो देशमा पनि केही गर्नुपर्छ भन्ने लाग्यो,’ उनले सम्झिए ‘मैले पनि त्यहाँको नागरिकता त पाउँथे। तर त्यताको लिन यता नेपालको नागरिकता छोड्न पर्छ भनेपछि लिइन्। श्रीमती र म यतै नेपाल आएँ।

लगभग एक महिना उनले आफ्नै गाउँ घुम्न थाले। विदेशमा लामो समय बसेको भनेर गाउँलेहरूले ‘देश विदेश घुमेको मान्छे यहाँ पनि केही गर्न पर्छ’ भन्न थाले। गोरखा जिल्ला नै भए पनि उनको गाउँ प्रशासनिक क्षेत्रबाट टाढा। सदरमुकाम फिदिम पुग्न २-३ दिन लाग्ने।

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै बाहिरका नागरिकले घुम्न पाउने गरी खुल्ला गरे। तर चुम क्षेत्र भने लामो समय ‘निषेधित’ नै रह्यो। त्यही बेलामा लाक्पाको नेतृत्वमा गाउँमा नुब्री संस्कृति युवा उत्थान समिति दर्ता भयो। जसको उद्देश्य भनेको यहाँका युवाहरूलाई सक्षम बनाउनु थियो।

‘जापानले पुनर्स्थापित गरेको मनास्लु’

निषेधित क्षेत्रमा सरकारी अधिकृतको हालीमुहाली थियो। गाडी नपुगेको क्षेत्रमा पदमार्गको कमी थिए। अहिले त्यही पदमार्गलाई पछ्याउँदै गाउँमा पर्यटकको ओइरो लाग्ने गर्छ। तर उनी नेपाल फर्किदा आरुघाट भन्दा माथि गाडी जाँदैनथ्यो। अहिले त एकले भट्टी भन्ने ठाउँसम्म गाडी पुगेको छ।

‘जापनिज नागरिक मनास्लु चढेको रहेछन्। यहाँको आलु सिंगापुरमा बेचेको देखेको थिएँ,’ उनले भन्दै गए, ‘गाउँमा गाई गोरुलाई खुवाउन पर्ने आलु सिंगापुरमा डलरमा बेचेको देखेँ। यहाँ झारपात भनेर त्यत्तिकै बसेको सबै बाहिर त जडीबुटी भएछ। गाडी नभएको कारण हामीलाई यहाँको सामान बजारसम्म पुर्याउन गाह्रो थियो। बरु मान्छेलाई नै यहाँ बोलाऊँ भन्ने दिमागमा आयो। अनि मैले पर्यटकलाई गाउँमा बोलाउने उपाय सोचेँ।’

गाउँलेकै पहलमा २०६३ सालमा चुम क्षेत्र पर्यटकको लागि खुला गरियो। अनि लाक्पा पहिलो पटक ‘मनास्लु महोत्सव’ मनाउनतिर लागे। जसमा वडादेखि तत्कालीन गाविस समेतले उनलाई सहयोग गरे।

सन् २०११ मा चुम क्षेत्रमा पहिलो पटक महोत्सव मनाइयो। जापानी राजदूतदेखि पर्यटन बोर्डका ‘हाकिम’ आए। गाडी नपुगे पनि धमाधम ‘हेलिप्याड’हरू बनाएर ‘ठुला मान्छे’हरू लाई महोत्सवमा सहभागी गराएको उनले बताए।  

सन् १९५६ ‘मे ९’ मा तोशिओ इमानिशी (जापान) र ग्याल्टसेन नोर्बु (शेर्पा) ले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए। त्यै भएर उनीहरूले त्यही दिनलाई छाने। अहिले पनि हरेक ‘मे ९’ मा यहाँ मनास्लु महोत्सव मनाइन्छ।

उनले पहिलो पटक जापानी नागरिकले कसरी मनास्लु हिमाल चढे भन्ने सो क्षेत्रमा प्रचलित कथा सुनाए।

हिरोसिमा र नागासाकी ध्वस्त भएपछि जापान सरकारले युद्ध नगर्ने भन्दै शान्तिमा जाने निर्णय गर्यो। युद्धले गर्दा जापानको झन्डा पनि झुकिसकेको थियो। त्यसलाई कसरी फहराउने? त्यहाँको सरकारले हिमालमा फहराउने निर्णय गर्यो। अनि तीन वर्षपछि मनास्लुमा आफ्नो झन्डा फहराउन सफल भए’ ।

त्रिशूलीबाट हिँडेर जापानी र नेपाली आरोहण टोली मनास्लु पुगेका थिए। त्यसबेलै पाँच सय त भरिया थिए रे। अनि झन्डा ठडिएपछि एक सय आठ वटा स्तूप पनि बनाइयो। पोखराको शान्ति स्तुपा र लुम्बिनीमा जापान सरकारले स्तूप बनाए। बाँकी अन्य देशमा बनाए। त्यसपछि मनास्लु पनि विश्वभर चिनियो।’

‘खम्पा विद्रोहको प्रभावले गाउँ सधैँ केन्द्रबाट टाढा भइराख्यो’

सिर्दिबासदेखि माथि निषेधित क्षेत्र भएकाले पर्यटनमा क्षेत्रमा प्रवेश गर्न सहज थिएन। किन प्रतिबन्ध लगाएको होला भनेर बुझ्न थाले। प्रतिबन्धको कारण स्वतन्त्र तिब्बत चीनले लिएपछिको नेपालमा सुरु भएको खम्पा विद्रोहसँग गएर जोडियो।

‘पर्यटन विकास गर्छु भनेर हल्लाखल्ला गरेँ। तर यो मिल्ने, त्यो नमिल्ने भनेर हैरान बनाए। पछि पो थाहा भयो, खम्पा विद्रोहको समयमा सिन्डिकेट लगाएको रहेछ यो क्षेत्रमा। हाम्रो क्षेत्रमा खम्पा विद्रोही रहेको खुलेपछि बाहिरका व्यक्ति जानै प्रतिबन्ध लगाएको रहेछ। अहिले पनि त्यसको असर कायमै छ। गाउँमा जति पर्यटक आउन सक्थे त्यति पर्यटक आउनै सकेका छैनन्।’

खम्पा  विद्रोहको बेलामा बनेका क्याम्पहरू अहिले पनि यहाँ थुप्रै छन् सो क्षेत्रमा। एउटा त लाक्पाढुण्डुपको स्याउ बारीमा समेत छ। सरकार पक्षबाट जब गोरखामा कोही प्रतिनिधि पुग्थे उनीहरू सिर्दिबास भन्दा माथि उक्लिन उत्साहित हुँदैनथे रे। सरकारी प्रतिनिधि गाउँमै नआएपछि लाक्पा लगायत केही गाउँलेले सिंहदरबार समेत घेरेका थिए।

‘गाउँमा सरकारी ठुलो मान्छे आउँदैछ रे भन्छन्। तर कहिले पनि हाम्रो गाउँसम्म नपुग्ने। पछि पो थाहा भयो, सिर्दिबासपछि बाटो नभएको कारण उनीहरू उतैबाट फर्किने रहेछ,’ उनी भन्छन्, ‘गाउँमा गोरखाबजारकै मान्छे समेत आउन नमान्ने बेला अरू कसरी आउँछन्?’

जसरी पनि गाउँमा पर्यटक आउन लागेको प्रतिबन्ध खुल्ला गराउनु थियो। उनी लागिरहे। त्यसपछि उनी पर्यटक ल्याउन गाउँलेसँग मिलेर भरिया र ‘गाइड’ को तालिम दिन थाले।

हप्तौँसम्म हिँड्न विशेषगरि विदेशी पर्यटकलाई भरिया र गाइड त नभई नहुने भयो। यसमा प्राय चुम क्षेत्रकै ‘लोकल गाइड’ हरू सक्रिय भए। धेरै युवाहरू भरिया र गाइड बने। बिस्तारै आन्तरिक र बाह्य पर्यटकहरू आउन थाले। अनि काठमाडौँको ट्रेकिङ कम्पनीहरूसँग आबद्ध भएर भरिया र गाइडहरू त्यता पुग्न थाले।

गाइड र भरियाको रोजगारी नखोसियोस् भनेर विदेशी पर्यटक एक्लै आउन नपाउने नियम बनाए। अहिले पनि मनास्लु क्षेत्रमा विदेशी पर्यटक जान कम्तीमा दुई जना हुनै पर्छ। यसले गर्दा भरियाको आम्दानी पनि हुने भयो। गाइडले नि काम पाए।

सो क्षेत्रमा ट्रेकिङ रुट त पहिला नै थियो। पसल, होटलहरु पनि बन्दै गए। गाउँलेहरू पनि प्रत्यक्ष पर्यटनमा जोडिँदै गए।

‘गोरखा जिल्लालाई पर्यटनको गन्तव्य बनाउने भनेर धेरै कुरा आउँछन् तर सधैँ गोरखा दरबार अनि गोरखा बजार मात्र प्राथमिकतामा पर्छ,’ मलिन स्वरमा उनी सुनाउँछन्, ‘मनास्लु महोत्सव पनि गोरखाबजार अनि काठमाडौँमा मनाउने रहेछन्। पछि थाहा भयो। सरकारले सधैँ हाम्रो क्षेत्रलाई पारी पट्टीको भनेर बस्ने रहेछन्। यहाँको स्थानीयलाई हेर्दै नहेर्ने।’  

‘अनि पर्यटनै रोजिरहे !’

गाउँमा बस्न थालेको केही समयपछि उनको श्रीमतीलाई फोक्सोको क्यान्सर देखियो। उपचारको लागि श्रीमती सिंगापुर गइन्। तर उनको ज्यान जोगिएन।

‘सधैँ फोनमा कुरा गरिराखेको मान्छे। फोन नआउँदा त गाह्रो हुने रहेछ। नामरुङमा पर्यटनको बिस्तार गर्नु मेरो मात्र सपना होइन उनको पनि हो। काठमाडौँको मान्छे हिउँदमा हिउँ खेल्न लामो दुरी गरेर कालिन्चोक जान्छन्। जबकि यहाँ ३५ मिनेटमा आइपुगिन्छ,’ उनले भने, ‘अनि मैले आफ्नै होटेल खोलेँ, स्याउ फार्म खोलेँ। आफ्नो लागि सबै सामान आफै बनाउने, साथीहरूको सहयोग लिने गरेँ। ऋण लिन मिल्ने ठाउँबाट ऋण लिएँ।’

त्यतिबेला सामा गाउँमा वीर बहादुर र साम्दोमा छिरिङ लामाको मात्र होटेल थियो। डेंग, ल्हो गर्दै गाउँ गाउँमा मुस्किलले एउटा मात्र होटेल थियो। त्यसबेला यस क्षेत्रमा कोही आए सब ‘क्याम्पिङ’कै भरमा आउन पर्थ्यो।

अहिले त दुइटा हेलिप्याड त उनकै जग्गामा छ। बिरामी र स्थानीयको प्रयोगमा आएको हेलिप्याड अहिले भने पर्यटक ओसार्न पनि प्रयोग गर्छन् उनी।  

स्याउ बारीमा मात्र उनको २० जना भन्दा बढीले रोजगार पाएका छन्। होटेल भएको ठाउँमा पनि १५/२० रोपनी जग्गा छ उनको। श्रीमती बितेको केही वर्षपछि उनले फेरि अर्को विवाह गरे। जडीबुटी व्यापार गर्न मनाङ जाँदा उनले अहिलेको श्रीमतीलाई भेटेको रे। अहिले उनी पनि लाक्पालाई व्यापारमा सघाउँछिन्। यता पनि उनको थप दुई जना छोराहरू भए।

बिस्तारै उनी स्याउ खेती अनि होटेलतिर लागे। उनको होटेलको निर्माण सकिनै लागेको थियो। त्यही बेलामा भूकम्प आइदियो। केन्द्रबिन्दु उनको होटेल क्षेत्र नजिकै। भूकम्पको प्रभावले लगभग डेढ करोडको क्षति भएको बताउँछन् उनी।

उनको आर्थिक अवस्था सुधारिँदै थियो। फेरी कोभिड-१९ को प्रकोप आयो। पर्यटक ठप्पै भए। त्यसैले उनको होटेल व्यवसायले गति लिएको दुई वर्ष जति भएछ। होटेलको भव्य उद्घाटन गर्ने रहर रहेछ। तर उद्घाटनै नगरी सुरु गरे।

उनको छोराहरू पनि पर्यटनमा आकर्षित भइरहेकाले उनी खुसी छन्। अहिले होटेल बनाएकै ठाउँमा उनले सङ्ग्रहालय पनि बनाउने सोचमा छन्। दुई/तीन सय वर्ष पुरानो घर र सामानहरू भएको उनको ठाउँ पहिला कुनै दरबार भएको उनको ठम्याई छ। जसको लागि पुरातत्त्व विभागलाई समन्वय गरेर दरबार बनाउने उनको तयारी छ।

‘संग्राहलय बनाउन सक्यो भने प्राकृतिक रूपमा मात्र नभएर ऐतिहासिक रूपमा अध्ययन गर्नकै लागि भए पनि हाम्रो गाउँमा पर्यटक आउँछन् भन्ने लाग्छ। गाउँमा जति पर्यटक भित्रियो हाम्रो लागि त त्यति नै राम्रो हो नि’ उनले भने।

-मनास्लुबाट फर्किएर

माघ २८, २०८१ सोमबार १७:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।