सांसदको नामै शुद्ध पढ्न नजान्ने सभामुख !

काठमाडौं : सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक कुराहरू उठाइरहेका थिए। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीलाई समय दिए।
तर, सभामुख घिमिरेले कार्कीलाई बोलाउने क्रममा ‘अब माननीय ज्ञानबहादुर कार्की’ भने।
उनले तुरून्तै सच्याउँदै ज्ञानेन्द्र बहादुर कार्की भनिसकेका थिए। तर, सांसद कार्कीले यो विषय यतिकै छाडेनन्।
सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिए।
‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका निमित्त म हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने।
सांसद कार्कीले यसो भनिरहँदा उपस्थित सांसदहरूमा हाँसो गुञ्जिरहेको थियो।
त्यसो त सभामुख घिमिरेले सांसदको नाम बिगारेको यो पहिलो पटक भने हैन। यसअघि गत भदौ ६ को प्रतिनिधि सभा बैठकमा पनि नेपाली कांग्रेसका सांसद नारायण खड्काको नाम बिगारेका थिए।
सभामुख घिमिरेले भनेका थिए, ‘माननीय सदस्य डा. नारायणप्रसाद खड्कालाई प्रश्न सोध्न अनुमति दिन्छु।’
त्यसपछि खड्काले सभामुखलाई आफ्नो नाम फेरि पढ्न लगाए।
उनले भने, ‘सम्माननीय सभामुख महोदय नाम फेरि पढ्नुपर्यो। त्यहाँ प्रसाद लेखिएको छ र?’
अनि प्रतिनिधि सभा हाँसोमय बन्यो। सभामुख घिमिरेले पनि नाम दोहोर्याएर पढे। सभामुखले हाँस्दै भने, ‘नारायण खड्का’।
सभामुख घिमिरेले त्यसअघि पनि कतिपय सांसदको नाम बोलाउने क्रममा अल्मलिएर प्रसाद, कुमार थपिदिने गरेका छन्।
यतिमात्रै नभएर कतिपय अवस्थामा एउटा सांसदलाई बोलाउँदा अर्को सांसदले उठेर बोलेका उदाहरण पनि रहेका छन्।
माघ २८, २०८१ सोमबार १५:५७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।