सारंग - बालमनोविज्ञानको सूक्ष्म चित्रण, तर शिथिल कथागति

काठमाडौंमा एउटा ठूलो घर भएको परिवारको एक मात्र सन्तान दर्पणको कथामा केन्द्रित फिल्म ‘सारंग’ले नेपाली समाजमा बढ्दो पारिवारिक विघटन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको कथा बोकेको छ। प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
फिल्मको मूल कथा अमर निरौला (उत्पल झा) र श्वेता निरौला (ऋचा शर्मा)को दाम्पत्य जीवनमा आएको खटपट वरिपरि घुम्छ। श्रीमान् अफिसकी एक युवतीसँग लागेको शङ्का भएपछि श्वेता डिभोर्सको तयारीमा छिन्। आफन्तहरूको उक्साहटले उनको निर्णय झनै दृढ बन्दै गएको छ।
यता अमर भने सम्बन्ध जोगाउन चाहन्छन्, तर श्रीमतीको निर्णय अडिग छ। यही वैवाहिक तनावको बीचमा पिसिएको छ उनीहरूको छोरा दर्पण। यही वरिपरी फिल्मको कथा घुमेको छ।
निर्देशक तामाङले बाल मनोविज्ञानलाई फिल्मको मूल केन्द्रमा राखेका छन्। बाबुआमाको माया दुवैतिरबाट पाउनुपर्ने उमेरमा एक्लो र बिछोडको पीडा भोग्न बाध्य दर्पणको मनोदशालाई फिल्मले सूक्ष्म ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
आमाबाबुको सम्बन्ध बिग्रँदा सन्तानको मानसिक विकासमा कस्तो असर पर्छ भन्ने पक्षलाई मिहीन रूपमा देखाउने प्रयास गरेका छन् निर्देशकले। स्कुलमा ध्यान नजाने, खाना नखाने, र मानसिक रूपमा विक्षिप्त बन्दै गएको बालकको कथा पर्दामा देख्न सकिन्छ।
बाल मनोविज्ञानको सूक्ष्म चित्रण, कलाकारहरूको प्रभावशाली अभिनय, र समकालीन सामाजिक यथार्थको प्रस्तुति यो फिल्मको सकारात्मक पक्ष हो। विशेषगरी बाल कलाकार आदित्य कार्की र सम्राट थापाले आ-आफ्ना भूमिकालाई बलियो रूपमा निभाएका छन्। ऋचा शर्मा र उत्पल झाको अभिनय प्रभावकारी छ।
तर, फिल्मका कमजोर पक्षहरू पनि उत्तिकै छन्। पहिलो हाफमा कथाको गति अत्यन्त सुस्त छ। स्कुल र घरको दृश्यमा मात्र सीमित रहेको फिल्मले पहिलो हाफमै दर्शकलाई दिक्दार बनाउँछ। निकै धैर्य चाहिन्छ पहिलो हाफमा हलमा टिक्न।
ड्राइभरको भूमिका अनावश्यक रूपमा लम्ब्याइएको छ। फिल्मका गीतहरू पनि त्यति स्मरणीय छैनन्। ‘मेरो बाबा मेरो आमा’ र ‘भीडमा एक्लो हुन्छु म’ जस्ता गीतहरू सामान्य स्तरका छन्। छायाङ्कनमा पनि विविधताको अभाव देखिन्छ। एउटै लोकेसन बारम्बार पर्दामा देखिँदा दर्शक झिँजिन्छन्।
दोस्रो हाफमा कथाले केही गति लिए पनि पहिलो हाफको शिथिलताले धेरै दर्शकहरू बिचैमा हलबाट बाहिरिने जोखिम छ। निर्देशकले बाल मनोविज्ञान र पारिवारिक समस्याको समाधान खोज्ने प्रयास गरे पनि कथाको प्रस्तुति र गतिले फिल्मलाई कमजोर बनाएको छ।
‘सारंग’ एउटा महत्त्वपूर्ण सामाजिक विषयवस्तुमा बनेको फिल्म हो। नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेद र त्यसले बालबालिकामा पार्ने असरलाई यसले प्रभावकारी ढङ्गले उठान गरेको छ।
तर, कथाको शिथिल गति, एकोहोरो दृश्यहरू र सीमित लोकेसनका कारण फिल्मले दर्शकको मन जित्न भने सङ्घर्ष गर्ने देखिन्छ। यद्यपि, पारिवारिक सम्बन्ध र बाल मनोविज्ञानमा रुचि राख्ने दर्शकहरूका लागि यो फिल्म हेर्न योग्य छ।
माघ २८, २०८१ सोमबार १४:०९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।