तिरुपति मन्दिरको लड्डू प्रसाद प्रकरणमा चार डेरी सञ्चालक पक्राउ

तिरुपति मन्दिरको लड्डू प्रसाद प्रकरणमा चार डेरी सञ्चालक पक्राउ

एजेन्सी : भारतको चेन्नईमा रहेको तिरुपति मन्दिरमा प्रसादको रूपमा चढाइने लड्डुमा मिसावट गरिएको घिउ प्रयोग गरेको घटनामा विशेष अनुसन्धान टोली(एसआईटी)ले चार मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।

सर्वोच्च अदालतको आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)को निरीक्षणमा एसआईटी गठन गरिएको थियो।

एसआईटीले ४५ वर्षीय विपिन जैन र ४७ वर्षीय पोमिल जैनलाई पक्राउ गरेको हो। उनीहरू दुवै जना उत्तराखण्डको रुडकीमा रहेको भोलेबाबा अर्गानिक डेरीका निर्देशक हुन्।

उनीहरूबाहेक, तिरुपति जिल्लाको वैष्णवी डेरी स्पेशलिटीज लिमिटेडका सीईओ ४७ वर्षीय अपूर्व विनायकान्त चावडा र तमिलनाडुको डिन्डिगुलमा रहेको एआर डेरीका प्रबन्ध निर्देशक ६९ वर्षीय राजु राजशेखरनलाई पनि पक्राउ गरिएको छ।

घिउमा मिसावट भइरहेको समयमा विपिन जैन र पोमिल जैन वैष्णवी डेरीका निर्देशक रहेको अनुसन्धान टोलीले तयार पारेको रिमान्ड रिपोर्टमा उल्लेख छ। चारै जना अभियुक्तहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको थियो र अलिपिरी (तिरुपति) स्थित एसआईटी कार्यालयमा ल्याइएको थियो।

रिमान्ड रिपोर्ट तयार भएपछि, कडा सुरक्षाबीच चारै जना अभियुक्तहरूलाई स्वास्थ्य परीक्षणको लागि रुइया अस्पताल लगिएको थियो। यसपछि, यस मुद्दाका अनुसन्धान अधिकारी अतिरिक्त एसपी वेंकट रावले चारै जना अभियुक्तहरूलाई अतिरिक्त न्यायिक मजिस्ट्रेट प्रवीण कुमारको घरमा लगेका थिए।

न्यायिक अधिकारीले रिमान्ड रिपोर्ट हेरेपछि चारै जना अभियुक्तलाई रिमान्डमा पठाइएको थियो।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा लड्डु बनाउन शुद्ध घिउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो।

मन्दिर व्यवस्थापन गर्ने कार्यालय ‘टीटीडी’ले केही घिउको नमुना परीक्षणका लागि गुजरातको राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पठाएको थियो।

उक्त प्रयोगशालाको प्रतिवेदनमा घिउमा ‘एस भ्यालु’ कहिले बढी र कहिले कम देखिएको थियो। त्यसको विश्लेषणबाट बोसो मिसाइएको निष्कर्ष अधिकारीहरूले निकालेका थिए।

पाँच वटा मापदण्डका आधारमा गरिएका परीक्षणमध्ये सबै मापदण्डमा घिउको नमुनामा मिसावट रहेको देखिएको थियो। प्रयोगशालाले वनस्पतिको तेल र जनावरको बोसो दुवै मिसावट भएको प्रतिवेदन दिएको बताइएको छ।

माघ २८, २०८१ सोमबार ०९:३६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।