बैङ्किङ कसुर र विधायन विधेयक प्रतिनिधि सभामा पारित भयो

काठमाडौँ : प्रतिनिधिसभाको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गरेको छ। आइतबार बसेको बैठकले बैङ्किङ कसुर सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको थियो। विधायन विधेयक भने बहुमतले पारित भयो।
आइतबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखेका थिए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखे।
विधेयक निर्णयार्थ पेस गर्नु अगाडि बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफल भएको थियो। छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिएका थिए।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताएका थिए।
‘विधायन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा विमला सुवेदी, सन्तोष परियार र ध्रुवबहादुर प्रधानले भाग लिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले नागरिक अधिकारलाई अझ सशक्त बनाउन तथा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन विधेयक अघि बढाइएको बताएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक माघ २८ सोमबार अपराह्न १ बजेका लागि तोकिएको छ।
माघ २७, २०८१ आइतबार २१:२०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।