'ममी': डराउन खोज्दा हराएको कथा

नेपाली फिल्म क्षेत्रमा हरर जनराका फिल्महरूको सङ्ख्या बढ्दो छ। यही क्रममा दर्शकमाझ आएको समर निरौलाको 'ममी' फिल्मले पनि दर्शकलाई तर्साउने प्रयास गरेको छ। तर फिल्मले दर्शकलाई तर्साउन खोज्दा कथा नै बिर्सिएको छ।
एउटी महिला, उनको विगतको पीडा र वर्तमानको त्रासलाई मिसाएर फिल्म निर्माण भएको छ। फिल्मको कथा सरल छ। तर सरल कथालाई जटिल बनाउन खोज्दा फिल्म आफैँ अल्झिएको छ।
सपना (प्रियङ्का कार्की) को वरिपरि घुमेको छ फिल्मको कथा। उनको बाल्यकाल मानसिक रोगी आमाको आत्मदाहबाट धेरै प्रभावित भएको छ। १९ वर्षको उमेरमा बलात्कारको सिकार भएकी सपनाले पछि आफ्नो बलात्कारी बोध (सुलक्षण भारती) सँगै विवाह गर्छिन्।
उनकी छोरीले जंगलबाट एउटा कालो बिरालो घरमा ल्याएदेखि दुई सन्तानकी आमा बनेकी सपनाको जीवनमा परिवर्तन देखिन थाल्छ। त्यसपछि घरमा अनौठा घटनाहरू हुन् थाल्छन्।
कालो बिरालोको प्रभाव र बलात्कारीसँगको वैवाहिक सम्बन्ध कुन मोडमा पुग्छ फिल्म मुख्य रूपमा यसैमा केन्द्रित देखिन्छ।
यस अगाडि नेपालमा बनेका हरर फिल्मको कथ्यशैली र त्यसले उत्पन्न गर्ने डरको भावसँग फिल्म ‘ममी’ दाँज्ने हो भने एक हदमा निर्देशक सफल देखिएका छन्।
हरर फिल्म हेर्दा दर्शकहरू हलमा हाँसिरहेका दृश्यहरू कमै देखियो यो फिल्ममा। एक हदसम्म निर्माताले दर्शकको मनमा डरको निर्माण गर्न सफल भएका छन्। तर डर उत्पन्न गर्नु मात्र हरर फिल्मको सफलता हो त? हैन।
हरर जनराको फिल्म सफल हुनका लागि केही आधारभूत तत्त्वहरू आवश्यक पर्छन्।
पहिलो - मनोवैज्ञानिक डर सिर्जना गर्ने क्षमता।
दोस्रो - वातावरण निर्माण।
तेस्रो - पात्रहरूको विश्वसनीय प्रतिक्रिया।
चौथो - कथामा रहस्य र अनपेक्षित मोड।
पाँचौँ - तार्किक निष्कर्ष।
फिल्म 'ममी'मा यी तत्त्वहरूको कार्यान्वयनमा निकै कमजोर देखियो।
मनोवैज्ञानिक डरको अभाव: फिल्मले दर्शकको मनोविज्ञानमा डर सिर्जना गर्नुको साटो सतही डर निर्माण गर्न बढी जोड दिएको छ। अचानक देखिने भूत वा डरलाग्दो आवाजले क्षणिक डर त सिर्जना गर्ला, तर त्यो दर्शकको मनमा बस्दैन।
कमजोर वातावरण निर्माण: जङ्गलको बिचमा रहेको घर र त्यहाँको एक्लोपनले डरलाग्दो वातावरण सिर्जना गर्न सक्थ्यो। तर फिल्मले यो सम्भावनालाई पूर्ण रूपमा प्रयोग गर्न सकेको छैन। हरर फिल्ममा क्यामेरा एंगल र लाइटिङको प्रयोगको अलग प्रभाव हुन्छ। यसमा दुवैको उचित प्रयोग हुन सकेको देखिएन।
अविश्वसनीय प्रतिक्रियाहरू: भूत देख्दा वा डरलाग्दो घटना हुँदा पात्रहरूको प्रतिक्रिया अस्वाभाविक छ। कतिपय दृश्यमा पात्रहरूले देखाउने प्रतिक्रिया र गर्ने व्यवहार मिलेको देखिएन। जस्तो भूत देखेपछि पनि त्यही घरमा बस्ने निर्णय।
कथागत अस्पष्टता: फिल्मले धेरै उपकथाहरू सुरु गर्छ तर तिनलाई पूर्णता दिन सक्दैन। कालो बिरालो, मानसिक रोगी आमाको आत्महत्या, बलात्कारको घटना। यी सबै घटनाको उचित समाधान दिन सकेको छैन फिल्मले।
अतार्किक समापन: फिल्मको अन्त्य हतारमा गरिएको देखिन्छ। धेरै प्रश्नहरू अनुत्तरित छन् फिल्ममा। दर्शकलाई छाडिएका रहस्यहरूको समाधान फिल्मले दिन सकेको छैन।
फिल्म ममीमा डर उत्पन्न गराउन साउन्ड डिजाइनमा धेरै नै निर्भर भएको देखिन्छ। पृष्ठभूमि सङ्गीतको अनावश्यक बढी प्रयोग भएको अनुभव हुन्छ फिल्म हेर्दा भूतको दृश्यहरूमा सीजीआई इफेक्ट्सको कमजोर प्रयोग गरिएको छ।
यसमा पात्रहरूको पृष्ठभूमि कथाको निकै अभाव खट्किन्छ। डर सिर्जना गर्न अत्यधिक जम्प स्केयर्सको प्रयोग भएको अनुभव हुन्छ। कथामा अनावश्यक मोडहरू थपिएका छन्।
हरर फिल्मको अनिवार्य पात्र झैँ देखिन्छ कालो बिरालो। यो फिल्ममा कालो बिरालोको प्रसङ्ग फिल्मको मूल कथासँग राम्ररी जोडिन नै सकेको छैन। कालो बिरालो राख्दैमा फिल्म हरर हुन्छ र? त्यसको उपयोगले हो फिल्म सान्दर्भिक हुने।
सराद्धे गर्दा घरमा पालेको बिरालोले बिगार गर्ला भनेर बाले थाममा बाँधेको देखेर सराद्ध गर्दा छिमेकीको घरको बिरालो ल्याएर आफ्नो थाममा बाँधेझैँ देखिन्छ यसमा कालो बिरालो।
मेकअप, साउन्ड इफेक्ट्स र भिजुअल इफेक्ट्सको अत्यधिक प्रयोगले कतिपय दृश्यहरू कृत्रिम बनेका छन्। यस्ता दृश्यहरूले क्षणिक डर त सिर्जना गर्लान्, तर दर्शकको मनमा गहिरो छाप छोड्न सक्दैनन्।
संवाद फिल्मको अर्को कमजोर पक्ष हो। पात्रहरूले बोल्ने संवाद प्राकृतिक भन्दा बनावटी लाग्छन्। विशेषगरी डरलाग्दो दृश्यहरूमा पात्रहरूको प्रतिक्रिया र संवाद अस्वाभाविक छन्। यसले दर्शकलाई फिल्मको वातावरणबाट बाहिर लैजान्छ।
अधिक हिंसात्मक दृश्य फिल्मको अर्को समस्या हो। केही दृश्यमा समेटिएको हिंसाको फिल्मको कथासँग के सम्बन्ध ? छुट्टाउनै सकस पर्छ।
दर्शक झस्किएनन् भने त हरर फिल्म नै हुँदैन नि भन्ने गलत मानसिकताका कारण यस्ता दृश्यहरूको सङ्ख्या बढाएको सहजै अनुभव हुन्छ फिल्म हेर्दा।
फिल्ममा कलाकार छनोटमा भने निर्देशक चुकेका छैनन्। प्रियङ्का कार्कीले सपना पात्रको चरित्र राम्रैसँग बोकेकी छन्। उनको डर लाग्दो रूप र आवाज फिल्ममा म्याच भएको छ। सपनाको श्रीमानको भूमिकामा रहेका सुलक्षण भारतीको अभिनय पात्र अनुसार सुहाउँदो छ। दिया मास्केले जति दृश्यमा स्थान पाएकी छिन् मिहिनेत गरेको देखिन्छ। आयुषी ढकाल र जेभिस श्रेष्ठको अभिनय बलियो छ फिल्ममा।
यस अगाडि हरर जनरामा बनेका नेपाली फिल्म बन्दा बलियो र अभिनय राम्रै भए पनि दर्शकलाई तर्साउने नाममा कथाको विकास र पात्र विकासलाई निर्देशकले बेवास्ता गर्दा ममी' बलियो हरर फिल्म बन्न भने चुक्यो।
प्राविधिक पक्षमा केही सुधार देखिए पनि कथा र पटकथाको कमजोरीले फिल्मलाई पूर्णता दिन सकेन। नेपाली हरर सिनेमाको विकासमा फिल्म ममीको टिमले गरेका प्रयास सुखद सुरुवात भने हो। तर मेहनत र सुधारको पक्ष अझै टन्नै देखियो।
माघ २७, २०८१ आइतबार १८:४८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।