अध्यादेशमा माओवादीसँग सहयोग मागेकोबारे शंकरको जवाफ 'अनौपचारिक कुरालाई सार्वजनिक गरियो'

काठमाडौं : एमालेमा महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अध्यादेशमा सहयोग नमागेको दाबी गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले अनौपचारिक कुराहरूलाई सार्वजनिक गर्न नहुने बताए।
शनिबार उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा बोल्दै उनले एमाले महासचिव पोखरेलले आफूलाई टेलिफोन गरी अध्यादेशमा सघाउन आग्रह गरेको तर, आफूले ठाडै अस्वीकार गरेको बताएका थिए।
महासचिव पोखरेलले पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्ने भन्दै अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक गर्न नहुने बताएका छन्।
'नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ। अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो।
पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ। अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्छन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन, उनले लेखेका छन्।
उनले पुनसँगको संवाद कम्युनिष्ट एकताको सन्दर्भमा पनि हुनसक्ने बताएका छन्।
माघ २७, २०८१ आइतबार ११:३७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।