महिला त्रिकोणात्मक टी-२० सिरिजमा पाँचौं खेलमा पनि हार्यो नेपाल, नेदरल्यान्ड्स १० विकेटले विजयी

काठमाडौं : महिला त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजमा नेपालले लगातार पाँचौं खेलमा हार व्यहोरेको छ।
काठमाडौंमा जारी सिरिजको आफ्नो पाँचौं खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
नेदरल्यान्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन्। स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।
नेपालका लागि पूजा महतोले अविजित रहँदै अर्धशतकीय पारी खेलिन्। ५१ बलको सामना गरेकी उनले पाँच चौकाको मद्दतमा ६२ रन जोडिन्। यो पूजाको दोस्रो अर्धशतक हो।
यो अर्धशतक सँगै पूजाले आफ्नो नाममा ऐतिहासिक कीर्तिमान राखेकी छन्। उनी त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनेकी छन्।
कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन्। नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए।
जारी सिरिजमा यसअघि नेपाल चार खेलमा पराजित भइसकेको छ। दुई खेलमा नेदरल्यान्ड्ससँगै र दुई खेलमा थाइल्यान्डसँग पराजित नेपालको नेदरल्यान्ड्ससँग यो अन्तिम खेल हो।
नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो।
पाँच खेलमा छ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ। अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ। सबै टोली आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
माघ २३, २०८१ बुधबार १५:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।