ओलीप्रति देउवाको विश्वास बढेको-बढ्यै, प्रचण्डको घटेको-घट्यै

काठमाडौं : मंगलबार पोखरामा आयोजित ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई दिइएको अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको खूब प्रशंसा गरे। सरकारले गरिरहेको पछिल्लो काम कारबाहीबारेको सन्दर्भमा प्रधानमन्त्री ओलीको अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको देउवाको दाबी रह्यो।
एमाले अध्यक्षसमेत रहेका ओलीसँग बिताएका जेल जीवनका दिन सम्झिँदै देउवाले त्यति बेला आफूहरूले सँगै कष्टकर दिन गुजारेको बताए। त्यतिमात्र नभएर ओलीलाई झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखिएको देउवाको तर्क छ।
‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो। झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो, देउवाले आफ्ना कार्यकर्तालाई आग्रह गर्दै भने, हामी मुख्य प्रतिस्पर्धी हौँ। तरपनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन।’
कांग्रेस र एमाले पहिल्यैदेखि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको प्रसंग उप्काउँदै देउवाले अहिले सरकारमा दुई पार्टीको गठबन्धन स्थायित्वका लागि भएको दाबी गरे।
त्यसो त देउवाले ओलीको प्रशंसा गरेको यो पहिलो पटक भने हैन। यसअघि पनि सार्वजनिक कार्यक्रमहरूमा उनले धेरै पटक प्रधानमन्त्री ओलीले सरकारको यो छ महिने अवधिमा राम्रो काम गरेको भन्दै तारिफ गरिरहेकै छन्। ओली नेतृत्वको सरकारले ल्याएका विवादित विधेयकको विषयमा होस् वा अध्यादेशकै सन्दर्भमा होस्, देउवाले ओलीलाई साथ दिइरहेका छन्।
गत माघ १८ मा संसद्मा कांग्रेसको तर्फबाट बोलेका देउवाले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका थिए। प्रमुख प्रतिपक्ष, विपक्षी दलसँगै कांग्रेसका अरू नेता तथा सांसदहरूले ओलीको आलोचना गरिरहेको यस परिप्रेक्ष्यमा देउवाले भने ओली सरकारको आलोचना गर्न नहुने भन्दै बचाऊ गरिरहेका छन्।
गत असार १७ मा नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा ओली डेढ वर्ष र देउवा एक वर्ष प्रधानमन्त्री बन्ने उल्लेख छ। यदि उक्त सहमति कार्यान्वयनमा आए देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन्। ओलीपछि आफू प्रधानमन्त्री बन्ने भएकाले पनि देउवा सरकारप्रति नरम देखिएको बुझिन्छ।
शेखर कोइराला, महामन्त्री विश्वप्रकाशलगायतका नेताहरू सरकारको कामप्रति सन्तुष्ट छैनन्। त्यतिमात्र हैन, कांग्रेसका अन्य केही नेताहरू भने सात बुँदे सहमति कार्यान्वयन हुनेमै शंका गरिरहेका छन्। तथापि कांग्रेसको तर्फबाट भने सहमति नतोड्ने देउवा निकट नेता मीन विश्वकर्मा बताउँछन्।
उनी भन्छन्, 'कांग्रेसले कहिल्यै सहमति तोड्दैन। सहमतिअनुसार अगाडि बढ्छ। कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्छ। सरकारका प्रति अविश्वास गरिहाल्नुपर्ने कारण छैन नै।'
नेता विश्वकर्माले भनेको जस्तै भएमा यसपटक देउवा ओलीपछि अन्तिम पटक प्रधानमन्त्री बन्ने छन्। त्यसपछि सम्भवत: उनी प्रधानमन्त्री बन्ने छैनन्। किनभने आउँदो चुनावअगावै देउवा विधानत: कांग्रेसको सभापतिबाट हट्नेछन्। उनी निकट नेताहरूका अनुसार त्यसपछि उनी सक्रिय राजनीतिमै पनि नरहन सक्छन्। त्यसैले पनि देउवा ओलीसँग नरम बनेर अन्तिम पटक प्रधानमन्त्री बन्न चाहेका छन्।
प्रचण्ड र ओलीको दुरी बढेको-बढ्यै
आजकै दिन पोखरामा देउवाले ओलीको तारिफ गर्दै गर्दा प्रचण्डले म्याग्दीको बेनीमा ओलीलाई 'फटाहा र जालीझेली' भन्न भ्याए। प्रचण्डले कांग्रेस-एमाले सहमतिको प्रसंग कोट्याउँदै ओलीको राजनीतिक चरित्रमाथि प्रश्न गरेका हुन्।
'एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ। उहाँले यति धेरै ढाँट्छल, जालझेल गर्नुभयो। मलाई त गर्नसम्म गर्नुभयो। स्वर्ग र नर्कका कुरा त तपाईंहरू सबैलाई थाहा नै छ। उहाँ हस्ताक्षर गरेर आएर पनि गरेकै छैन भन्नुहुन्छ। पत्रिकामा फोटो छापिइसक्यो तर यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त? उनले प्रश्न गरे।
प्रचण्डले पनि ओलीको आलोचना गरेको यो पहिलो पटक भने हैन। पछिल्लो पटक ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग मिलेर सरकार बनाएपछि प्रचण्ड प्रधानमन्त्रीबाट हट्नु परेको थियो। त्यसलगत्तै संसदमा विश्वासको मत लिने क्रममा उनले ओली जाली-झेली व्यक्ति भएको भनेर होच्याएका थिए। उनको त्यो क्रम अहिलेसम्म घटेको छैन, झन् बढिरहेको छ।
उनले गत पुष १५ मा ओलीको गृह जिल्ला झापा पुगेर जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताएका थिए। त्यतिबेला उनले गिरीबन्धु टि-स्टेट घोटालामा ओली जोडिएको भन्दै त्यसको फाइल खोलेरै छाड्ने बताए। गिरीबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने उनको दाबी थियो।
त्यसयता पनि प्रचण्डले ओली नेतृत्वको सरकार दलाल, बिचौलियाले बनाएको अनि त्यसको मतियार प्रधानमन्त्रीका रूपमा ओली नै भएको भन्दै आरोप लगाउँदै आइरहेका छन्।
त्यसो त, प्रधानमन्त्री ओलीले पनि प्रचण्डको आलोचनामा थुप्रै समय नखर्चिएका भने हैनन्। मङ्सिर ७ मा दरबारमार्गमा गरिएको एमालेको जागरण सभा एउटा उदाहरण मात्र हो।
माघ २२, २०८१ मंगलबार २०:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।