चौथो अंग : पत्रकार हुनुपर्ने, स्वार्थ समूहको प्रोपागान्डाको हुलाकी पो भयौँ

लमजुङको भोर्लेटारमा २०५७ सालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच भिडन्त भयो। यो खबर आउने बित्तिकै नेपाल समाचार पत्रका पत्रकार हेलिकप्टर चार्टर गरेर घटनास्थल पुगे। कान्तिपुर दैनिक र स्पेस टाइमले पनि त्यसरी नै पठायो। भिडन्त भएको ठाउँमा श्रीमतीको ज्यान एकातिर, टाउको श्रीमानको काखमा अनि बच्चा हातमा लिएको र वरपर रगतको आहाल थियो। घटनास्थल सफा नगर्दै मिडिया पुगे।
त्यो बेलामा घटना हुने बित्तिकै मिडियाबीच फिल्डमै गएर जस्ताको तस्तै सूचना ल्याउन प्रतिस्पर्धा हुन्थ्यो। अहिले धादिङको झ्याप्ले खोलामा बस पहिरोमा पुरिएको मिडियाले घटना भएको भोलिपल्ट थाहा पाउँछ। त्यो कलंकीबाट १३ किलोमिटर पर मात्रै छ।
अहिले ताप्लेजुङको पाथीभरामा केबलकारको विषय उठिरहेको छ। त्यहाँ खास भएको के हो भन्ने डिटेल रिपोर्ट मिडियामा देखिन्न।
मिडिया भनेकै प्रतिपक्ष हुनुपर्ने हो तर हुन सकिरहेका छैनौँ। पहिले हाम्रा मिडिया विचारबाट प्रभावमा थिए अहिले अर्थको कारण दबाबमा छन्। सरोकारवालाले दिएको सूचनामा भर परेर घटनास्थल नै नजाने भयौँ पत्रकार।
यसको एउटा कारणमा आर्थिक अभाव त भइनै हाल्यो, अर्को कामप्रति घट्दो प्यासन पनि हो। प्यासन छ भने समस्याले मात्र पत्रकार रोकिँदैनन्। यसरी हेर्दा पहिले मिडियाहरू वैचारिक सत्तामा रुमल्लिएका थिए। अहिले मिडियाहरू आर्थिक सत्तामा रुमल्लिरहेको देखिन्छ।
संकटको बेलामा साना मिडिया काम लाग्ने
पत्रकारितामा कुनै योजना भएर आएको होइन। रत्न राज्यलक्ष्मी क्याम्पसमा आइए पढ्दै गर्दा पत्रकारिता सुरु गरियो। किशोर नेपाल सम्पादक रहनुभएको नयाँ सडकमा काम गरेँ। फिल्डमा कसरी उत्रिनुपर्छ भन्ने कुरा उहाँ आफैँ फिल्डमा उत्रिने अनि रिपोर्टरलाई सँगै लिएर हिँड्ने बानीबाट धेरै सिकियो।
पूर्वमा हर्ष सुब्बादेखि नयाँ पुस्तामा सजना बरालसम्मलाई उहाँले पत्रकारिता सिकाउनु भयो। एक हिसाबले किशोर नेपाल पत्रकारिताको विश्वविद्यालय नै हो। किशोर दाइसँग मत अभिमत भन्ने उहाँको कार्यक्रममा प्रोड्युसर भएर पनि काम गरियो। पत्रकारिता, अध्ययन अनुसन्धान र अध्यापन गरियो यही क्षेत्रमा।
त्यसबाहेक अध्ययन अनुसन्धानमा पनि सक्रियता रह्यो। राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि समाचार कक्षले कसरी त्यसलाई ग्रहण गर्यो भन्ने अनुसन्धानमा संलग्न रहेँ खोज पत्रकारिता केन्द्रका लागि। पछि त्यो पुस्तक ‘न्युज इन क्राइसिस’शीर्षकमा छापियो।
राजाले ‘कु’ गरेको समयमा ठूला र बलिया मिडियाको प्रस्तुति कमजोर रूपमा रहेको तथ्य त्यसले निकाल्यो। उदाहरणका लागि ‘कु’ गरेको भोलिपल्ट एउटा ठूलो अखबारमा मोजाको विषयमा सम्पादकीय छापिएको थियो।
भर्खरै खुलेका अनि साना लगानीका मिडियाले ठूला मिडियाको तुलनामा बलियो गरी ‘कु’ को विरोध गरेर लेखे। न्युज इन क्राइसिसमा राजाको ‘कु’ पछि सेना समाचार कक्षमा प्रवेश हुँदा त्यसको असर समाचारमा कसरी पर्यो भन्ने लेखिएको छ।
त्यतिखेर मिडियाले ‘कु’ बारे आलोचनात्मक समाचार छाप्न नसके पनि वैकल्पिक तरिका अपनाए। हिमालखबर पत्रिका यसमा सबैभन्दा फरक देखियो। समाचार कक्षमा प्रवेश गरेका सेनाले जति वाक्य, अनुच्छेद छाप्न निषेध गर्यो, त्यो भाग खाली छाडेरै म्यागेजिन प्रकाशित भयो। यो मौलिक र भद्र शैलीको विरोध थियो राजाको कदमको।
दृष्टि साप्ताहिक लगायतले सम्पादकीयमा पूरै कालो मसीमात्र पोते विरोध स्वरूप। ‘कु’सँगै मिडियामाथि गरिएको प्रतिबन्धको प्रतिरोधमा साना लगानीका मिडिया जति प्रखर भए, त्यति नै मौन रहे ठूला मिडिया। कान्तिपुर लगायतका मिडियाले पछि मात्रै विरोधमा सामग्री पस्किएका थिए। नयाँ आएको ‘राजधानी दैनिक’ भने प्रारम्भबाटै आक्रामक देखियो त्यतिखेर।
त्यतिखेरको अनुभवले के देखाउँछ भने संकटको बेला काम लाग्ने साना मिडिया रहेछन्। किन भने सरकारले कब्जा नै गर्यो भने पनि तिनमा आर्थिक क्षति धेरै नहुने। ठूला मिडियाले भने ठुलो लगानीका कारण जोखिम नउठाउने प्रवृत्ति देखियो। कोभिडकै बेलामा पनि ठुलो मिडियाले प्रकाशन नै बन्द गरे। यसले दीर्घकालीन रूपमा धेरै नै असर पारेको देखिन्छ।
१० वर्ष सशस्त्र सङ्घर्षको बेलामा माओवादीले कार्यक्रममा बोलाउँथे। उनीहरूको गलत कामबारे सिधै लेख्न जोखिम थियो। उनीहरूको कार्यक्रममा गए पनि रचनात्मक तरिकाले नराम्रा काम लेखिन्थ्यो।
एउटा रोचक उदाहरण-द्बन्द्बकालमा रिपोर्टिङ गर्न कर्णाली गइयो। माओवादीका कार्यक्रमबारे लेखियो पनि सँगै साना लगानीमा दोकान चलाएर बसेका व्यक्तिको माओवादीप्रतिको गुनासो पनि लेखियो।
दैलेखका एक नास्ता पसलेले धेरै जना माओवादी खाना खान आए तर धेरैले पैसा नतिरी जाने गरेको सुनाए। हामीले त्यही लेख्यौँ। त्यतिबेला किशोर नेपालले भन्नुभयो -एक तिर दुई सिकार गरिस्। पत्रकारले हेर्ने नै त्यही हो। कसैले घुमाउन लैजान्छ या कुनै स्वार्थमा लैजान्छ। त्यस्तोमा जानै हुन्न भन्ने हैन। जाने तर आफ्नो पत्रकारिताको धर्म नछाड्ने।
मैले पत्रकारिता सुरु गर्दा वैचारिक हिसाबले अति डोमिनेट थिए मिडिया। कम्युनिस्ट निकटले उदारवादको विरोधी कुरा गर्थ्यो भने कांग्रेस निकटले साम्यवाद विरोधी। पार्टीहरू वैचारिक लडाइमा थिए।
पत्रकारहरूमा पनि त्यसको प्रभाव थियो। किनभने नेताहरूले नै पत्रकार बनाएका क्याडरहरू धेरै थिए। नारायण ढकालले तीन सम्वतसरमा लेख्नु भएको छ-‘फलानोले पढेको छैन, आम्दानी छैन यसलाई मिडियामा काम लगाइदेऊ भन्दै निर्देशन आयो।'
पार्टीबाट खटिँदा केही पढेगुनेकाले पत्रकारिता गर्ने भए नत्र हकर अथवा अरू काम पाउँथे। २०४६ साल पछि पनि त्यसैको असर साप्ताहिक पत्रिकामा देखियो। हरेक दिन निस्किने साप्ताहिक कुनै न कुनै पार्टी निकटका हुन्थे। पार्टीभित्रका गुटका पनि हुन्थे। पार्टीमा वैचारिक छउन्जेल पत्रकारमा वैचारिक लडाइ देखिन्थ्यो। तर अहिले पार्टीहरू पैसा मुखी भए। अधिकांश मिडिया पनि त्यस्तै भए। आर्थिक क्षति हुने आंकलन हुने भयो भने मिडियाले समाचार नलेख्ने भयो।
अर्कोतिर पत्रकार पनि दलका कार्यकर्तामा रूपान्तरित भए। सत्तामा जुन दलसँग गठबन्धन हुन्छ पत्रकार पनि त्यसअनुसार नै विभाजित भए। नेपाल पत्रकार महासङ्घको निर्वाचन नै पछिल्लो उदाहरण हो यसको। पत्रकार व्यावसायिक हुन्थे भने नेतृत्वमा व्यक्तिको चयन गर्थे, राजनीतिक गठबन्धन अनुसार होइन। तर महासङ्घमा दलगत गठबन्धन अनुसारका पदाधिकारी चुनिए।
सत्ताको निगरानी हैन चाकडीमा
पत्रकारिताको उदारवादी सिद्धान्तले ’जर्नालिष्ट आर हाइली एजुकेटेड पिपुल दे नेभर डु रङ्ग’ भन्छ। पत्रकारहरू एकदमै धेरै शिक्षित हुन्, उनीहरूले गल्ती गर्दैनन् भनियो। साँच्चै हो त ? के हामीले गरेको पत्रकारिताले यो भनाइलाई स्थापित गर्छ त?
यहाँ त आफू तथ्य जाँच नगर्ने अरू कसैले गरिदियो भने पनि गल्ती रियलाइजको साटो इख राख्ने प्रवृत्ति देखियो। तथ्यले सही नभनेको प्रमाणित हुँदाहुँदै हामीले लेखेको सही छ भन्ने प्रवृत्ति बढ्यो। लेखियो, सकियो भन्ने गलत प्रवृत्ति देखियो।
पत्रकारले काम गर्दा सकेसम्म गल्ती नगर्ने, कथमकदाचित गल्ती भइहाल्यो भने सच्याउने हो। भूल सुधार र माफी पनि माग्ने हो। तर ठुलो गल्तीलाई पनि टाइपो इरर जसरी मिडियाले स्वीकार नगर्ने प्रवृत्ति छ।
तर आफ्ना कमजोरी जति लुकाउँछौँ हामी त्यति नै कमजोर हुन्छौं। करेक्सन गरेर हामीले विश्वसनीय कन्टेन्ट दिन्छौं भनेर आम पाठकलाई कन्भिन्स गराउनुपर्यो। यसले पत्रकारिताको भलो नै हुन्छ। तर यो स्विकार्न गाह्रो भइरहेको देखिन्छ।
बाहिरबाट हेर्दा मिडियामा सेन्सरसिप छैन, हस्तक्षेप पनि छैन जस्तै देखिन्छ। त्यसो हो भने किन सबै मिडिया आउटलेटमा एकैखाले समाचार आउँछ? समाचार एजेन्सीमात्र होइन दलका नेताका विषयमा एकैखाले समाचार उत्पादन कसरी हुन्छ त?
एक महिनामा मिडिया आफैले खोजेर लेखेको समाचार कति वटा हामीले पस्किरहेका छौँ? कुनै समाचार लेख्दा आफ्नो नेता वा साहुको सम्बन्ध जोड्न थालेपछि सत्य समाचार कसरी आउँछ? यसले नै देखाउँछ प्रभाव समूहका कारण हामी पत्रकार सेल्फ सेन्सरसिपमा छौँ।
एउटा उदाहरण, कान्तिपुर दैनिकमा फोटो पत्रकार चन्द्रशेखर कार्कीले बालाजुतिरको गलैँचा फ्याक्ट्रीले प्रदूषित पानी खुला छाडेको तस्बिर खिचेर ल्याए। तस्बिर छापियो। भोलिपल्ट थाहा भयो त्यो गलैँचा उद्योग त कान्तिपुरकै प्रकाशकको रहेछ।
त्यतिखेर समाचार छापेबापत प्रकाशकले पत्रकारलाई कारबाही गरेनन्। स्वतन्त्रताको त्यो अभ्यास अहिले छ त? पहिले नै साहुको सम्बन्ध खोजेको भए त्यो तस्बिर प्रकाशित हुन्थ्यो त? जो सुकै होस् गलत हो भने गलत लेख्नुपर्छ। नत्र पत्रकारिता चाकडीकारितामा रूपान्तरित हुन्छ।
अहिले हेर्दा मिडियाहरू स्वार्थ समूहको सूचना यताउता पुर्याउने दूत जस्ता देखिन थालेका छन्। यताको कुरा उता लाने, उताको कुरा यता ल्याउने। समाचार भन्दा धेरै सूचना चुहाउँदै चहार्ने प्रवृत्ति बढ्दो छ।
मिडियाले त भएको के हो र हुनुपर्ने के हो भन्ने तथ्य खोज्ने अनि लेख्ने हो। अहिले यो काम भइरहेको छैन। स्वतन्त्रताको हिसाबले बलिया तर आर्थिक दबाब र प्रभावले नाफाघाटा हेरेर समाचार लेख्ने हो भने पत्रकार जतिसुकै शिक्षित भए पनि त्यसको के अर्थ हुन्छ र।
त्यसैले यतिखेर सत्ताको निगरानी गर्नुपर्ने मिडिया उसैको चाकडीमा रमाएको देखिन्छ। सत्तासँग जोडिने विषयमा सरकारी गोरखापत्र र निजी गोरखापत्रजस्तै भइसकेको छ। कुनै पत्रिका प्रतिपक्षीजस्तो देखियो भने सत्तापलट भएपछि हेर्नु त्यो भाइ गोरखापत्र बनिसकेको हुन्छ।
सत्ता भनेको सरकारमा बस्ने मात्रै भनेको हैन, हरेक दल र त्यसको गुटहरूमा पनि यही प्रवृत्ति देखिन्छ। चाहे त्यो सरकार होस् चाहे त्यो निजी क्षेत्र होस् सत्ताको वरपर बसेको मात्रै हैन लुटुपुटु नै छ हाम्रो मिडिया अहिले। यो ज्यादै डरलाग्दो प्रवृत्ति हो स्वतन्त्र पत्रकारिताका लागि।
त्यसैले परिणाम सत्ता प्रतिको आलोचना पहिले जति हुन्थ्यो अहिले त्यति हुँदैन। नेता र नेतृत्व छाडौँ प्रवृत्तिबारे पनि खुलेर ज्यादै कम मात्र लेखिन्छ। ‘डाइङ जर्नालिजम स्पिड्ली’ भन्दा ठिक होला यसलाई।
लङ फर्मका स्टोरी त कम आएका छन् नै ठूला टेलिभिजन समेतले एजेन्सीको भिडियो किनेर प्रस्तुत गर्न थालेपछि कसरी पत्रकारिता मर्दैछ नभन्नु। सुरुमै भनेँ, पहिला केन्द्रका मिडिया चक्रपथ भित्र मात्रै सीमित भए भनेर आलोचना गरिन्थ्यो। अहिले त चक्रपथबाट पनि साँघुरिएर सिंहदरबार सीमित भइरहेका छौँ।
दशैंभन्दा केही अघि आएको बाढी पहिरोले तीन दिन दक्षिणकालीको बाटो चलेन। अधिकांश मिडियाले त्यो समाचार नै देखेनन्। हामीले सिंहदरबार वरिपरिबाहेक देख्नै छाडेका हैनौँ त?
स्वार्थ समूहको प्रोपागान्डाको हुलाकी
अर्को समस्या अहिले हाम्रा ब्रेकिङ न्युजहरू अरू कसैले तयार गरेर ह्यवाट्सएपमा पठाएको सामग्रीमा आधारित हुन थाल्यो। यसले पत्रकार हुनुपर्नेमा स्वार्थ समूहको प्रोपागान्डाको हुलाकीमा सीमित भयौँ हामी।
प्राध्यापक पी खरेलले यसलाई पिकदानी पत्रकारिता भन्नुहुन्छ। अहिले पत्रकारिता कसैले भन्दिएको वा सुनाइदिएको भरमा भएको छ। पत्रकारिता आफैँ खोजी गर्ने, सुनाएको कुरा प्रमाणले के भन्छ त्यो हेरेर लेख्नेखाले कमै मात्र अभ्यास भएको छ। अरूले भन्ने अनि मिडियामा ल्याएर टाँस्दिने काम भएको छ।
यहाँ कोही प्रकाशक सांसद बन्न सम्पादक नै फेरिए। विज्ञापनका कारण समाचारमा सेन्सर भयो भन्ने मात्र रहेन, सांसद र मन्त्री बन्ने अभिलाषामा पनि पुगे केही मिडिया सञ्चालक। नाफाकै मात्र खोजी बढी रह्यो यो पेसामा, सेवाभाव घट्यो।
प्रस्ट बुझ्नुपर्छ पत्रकारिता व्यवसाय पनि हो। यो समाजसेवा हैन। तर रक्सी फ्याक्ट्रीबाट हुने उत्पादन र मिडियाबाट हुने उत्पादन र नाफाको फरक हामीले बुझ्न जरुरी छ। फेरि यसलाई सामान्यीकरण गरौँ – समाजका कुनै पनि अवयव सद्दे छैन भने पत्रकार मात्र गजबको पाउने कहाँबाट? पत्रकार यही समाजका उत्पादन होइनन् र?
जनशक्तिको खडेरी
विश्वविद्यालयमा पनि पढाउने हुँदा कस्ता जनशक्ति उत्पादन भइरहेका छन् थाहा हुने भइहाल्यो। केही सम्पादकहरूले के जनशक्ति उत्पादन गर्छौँ समाचार लेख्न पनि आउँदैन भन्नुहुन्छ। यसलाई चाहिँ तीन-चार तरीकाले बुझ्न जरुरी छ।
पहिले आइएमा पत्रकारिता पढ्न अंग्रेजीमा ५० प्रतिशत र नेपालीमा ५० प्रतिशत अङ्क अनिवार्य थियो। नत्र भर्ना हुँदैनथ्यो। अहिले कुनै क्राइटेरिया नराखेपछि सबै प्रकारका जनशक्ति उत्पादन भए।
पढाइमा राम्रो गरेका पहिलो वर्गका विद्यार्थी एनजिओ-आइएनजीओमा काम गर्ने भए। दोस्रो जसले घोक्न सक्छन् उनीहरू लोकसेवा आयोगमा नाम निकाल्ने भए। तेस्रो वर्गको मात्र पत्रकारितामा प्रवेश हुने अवस्था छ अहिले।
त्यसमाथि पत्रकारितामा आउनुअघि नै प्रेस युनियन, प्रेस चौतारी वा केन्द्रतिर आबद्ध हुन थाले। समाचार कक्षमा छिर्दा नै राजनीतिक झोला बोक्ने भए। कारण के त? यसो पत्रकारिता आयो, दलको झन्डा समायो अनि केन्द्रदेखि पालिकासम्म सल्लाहकार भयो!
विश्वविद्यालय तालिम केन्द्र होइन। त्यसमाथि पत्रकारिता पढेकै भरमा पत्रकार बन्न त सक्दैन नै, प्यासन चाहिन्छ त्यसमा। एकेडेमिक कोर्सले पेसामा मर्यादित हुन र उद्देश्यसहितको काम गर्न सिकाउँछ।
त्यसैले समाचार कक्ष नै सबैभन्दा राम्रो विश्वविद्यालय हुनुपर्छ पत्रकारका लागि। किनकि विश्वविद्यालयमा पत्रकारितासँगै आमसञ्चारका अन्य आयाम पनि पढाउँछ। त्यहाँ पढ्ने सबैको लक्ष्य पत्रकार बन्ने मात्र हुँदैन।
कुनै पनि व्यक्तिमा पत्रकारिताको प्यासन छैन भने नेपालको यो अवस्थामा पत्रकारिता गर्दैनन्। किन भने आर्थिक रूपमा राम्रो भएको काम छोडेर ‘तलबै’ नआउने पेसामा कोही किन लाग्छ?
तर के बाहिर हल्ला गरे जस्तो सबै मिडियामा तलब नदिने हो त? सबैमा तलब नदिने भन्ने होइन। म काम गर्ने बिजमाण्डूले दुई वर्षभन्दा बढी मेरो अध्ययन बिदामा पनि तलब दिएरै राख्यो।
पत्रकारिता गर्नेको हालत खराब भन्ने न्यारेसन पत्रकारले नै स्थापित गरे। त्यसमाथि केही ठूला मिडियाले तलब दिन गडबडी गरेपछि पत्रकारले तलब पाउँदैनन् भन्ने भाष्य थप बलियो गरी स्थापित भयो।
पढेका व्यक्तिहरू यस्तो महँगीमा तलबै नआउने क्षेत्रमा किन काम गर्ने भन्ने प्रश्न गर्न बाध्य भए। ठूला मिडियाले स्ट्रिन्जर माग्न थालेपछि न्युजरुमप्रति आकर्षण कसरी बढ्छ? यसले हाम्रा मिडियामा समस्या छन् भन्ने देखाउँछ। तर बाहिर चर्चा हुने जस्तो गए गुज्रिएकै अवस्था भने होइन। तर यसलाई मिडियाले चिर्न जरुरी छ। चिर्न सकेको छैन।
मिडियाको अर्को समस्या भनेको तालिम नै नदिने। एउटा उदाहरण– हामी आबद्ध सेन्टर फर मिडिया रिसर्च नेपालले निःशुल्क दिएको तालिममा पत्रकारले आवेदन दिए। तर मिडिया हाउसले नै उसलाई तालिममा पठाएन किनकि त्यस बीचमा काम गर्ने मान्छे उसँग छैन।
वृत्ति विकासमा पत्रकारमाथि लगानी नगर्दा घाटा त समाचार कक्षलाई नै त हो। सिक्न र सिकाउन कन्जुस गर्यौँ भने पत्रकारिता, पत्रकारिता रहँदैन ।
घटेरो जस्ता सम्पादक, तिनैलाई पछ्याउने रिपोर्टर
अहिले सरकारले सोसल मिडिया विधेयक ल्यायो। यो विधेयमा पत्रकार गजबले विभाजित देखिए। सत्ता पक्षका पत्रकार खुलेर आलोचनामा उत्रिन नसक्ने रहेछन्। कतिले त प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समर्थन नै गरेका छन्।
विधेयकका कतिपय प्रावधान अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन जसरी पनि व्याख्या गर्न मिल्ने खालका छन्। यति अमूर्त शब्द राखिएको छ कि राज्यले त्यसको जुनसुकै बेला दुरुपयोग गर्न सक्छ। यतातिर ख्यालै नगरी पत्रकारले समेत समर्थन गरिरहेका छन्। अहिले मिडियाको वितरण प्रणाली कहाँ निर्भर छ? सोसल मिडियामा हैन? वितरण प्रणाली कसिदिएपछि कसरी पाठक/ दर्शक अनि श्रोताकोमा पुग्ने? यसले सोसल मिडियाप्रति पत्रकारको दृष्टिकोण कमजोर देखिन्छ ।
सोसल मिडिया विधेयकबारे विरोध गर्नुको साटो पत्रकारहरू नै मिडियालाई कडाइ गर्ने सरकारको विधेयकको विरोधमा उभिन सकेका छैनन्। जो देखिएका छन् ती पनि मलिन छन्। यस्तो बेलामा सम्पादक र पत्रकारको एकमत हुनुपर्थ्यो। देखिएन।
मूलधारको प्रभावमा आएको गिरावट र सोसल मिडियाले उछिनिरहेको सन्दर्भमा अहिले हाम्रा सम्पादकहरू कुहिरोको काग जस्ता भएका छन्। त्यसमाथि एआईको चर्चा बढ्दो छ। सानो सर्कलमा बस्नु अनि आफूलाई फैलाउन नसक्नु सम्पादकको कमजोरी हो।
अनलाइनका सन्दर्भमा त घट्टमा मकै हाल्ने घटेरो जस्ता भए हाम्रा सम्पादक। समाचार कक्षले नै दिनमा ५० वटा समाचार पोस्ट गर भन्छ भने सम्पादकहरू घटेराभन्दा कम भए त? अब सङ्ख्याको पछि लाग्दा न्युजरुमको प्राथमिकता के के मा रहने? यसको प्रभावले जनसरोकारका विषय युट्युब र अन्य सोसल मिडियाले हाइज्याक गर्न थालिसके।
कुनै बेला कान्तिपुरमा युवराज घिमिरे सम्पादक हुँदा मरनी देवीको कथा छापियो। समाचार लेख्दा पहिले राजा, रानी, युवराज, प्रधानमन्त्री, मन्त्री… मर्यादाक्रम तोकिन्थ्यो। त्यही कालखण्डमा बोक्सीको आरोपमा दिसा खुवाइएकी महिलाको कभर स्टोरी आयो मर्यादाक्रम तोडेर।
सोसल स्टोरीमा नेपाली मिडिया अर्को चरणमा प्रवेश गरायो यसले। तर, मिथ्या सामग्रीले यतिधेरै गाँजिरहेको यतिखेर त्यस्तै नयाँ चरणमा हामी प्रवेश गर्न सकेका छैनौँ। त्यसका लागि मिडियाले न त समाचारमा लगानी बढाएका छन् न त पत्रकारमा खट्ने हुटहुटी नै जागिरहेको छ।
तर जब कन्टेन्टमाथि खर्च गर्ने र पत्रकार जिज्ञासु हुने क्रम सुरु हुन्छ पत्रकारिता सुधारको बाटोमा आउँछ भन्ने विश्वस्त भने अझैँ छ।
(नयाँ सडक, स्पेसटाइम, नेपाल साप्ताहिक, नागरिक दैनिक, पहिलोपोष्टडटकममा काम गरिसकेका दाहाल अहिले बिजमाण्डूमा आबद्ध छन्। त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताको अध्यापनमा समेत संलग्न दाहालसँग उकेराकर्मी प्रजु पन्तले ‘सत्ता र नेपाली मिडिया’ विषयमा केन्द्रित रहेर गरेको कुराकानी)
चौथो अंगका पुराना श्रृंखला :
माघ २२, २०८१ मंगलबार २१:०२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।