नेपाल टेलिकमको प्रभाव घटेकोमा मन्त्री गुरुङले भने 'समयमै सही निर्णय गर्न नसके पछि पछुताउनुपर्छ'

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए।
उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौं। त्यसको प्रतिवेदन आइसकेको छैन। समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौं।’
उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमा संस्थाको प्रभाव घटेको पनि बताए।
उनले भने, ‘संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ। उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो की अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो? त्यसमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ। अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौं भने पछि पछुताउनुपर्छ।’
माघ २२, २०८१ मंगलबार १९:४९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।