नेपाल टेलिकमद्वारा टूजी सेवा बन्द गर्ने घोषणा, भीओवाईफाई सुरु

नेपाल टेलिकमद्वारा टूजी सेवा बन्द गर्ने घोषणा, भीओवाईफाई सुरु

काठमाडौँ : नेपाल टेलिकमले १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालित टूजी सेवा चालु आर्थिक वर्षभित्र बन्द गर्ने घोषणा गरेको छ।

आफ्नो २१ औँ वार्षिकोत्सवमा प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले यस्तो घोषणा गरेकी हुन्। उनका अनुसार, कम्पनीको फोरजी सेवा हाल करिब १ करोड ६४ लाख ग्राहकसम्म पुगेको छ। फोरजी/एलटीई सेवा ७७ जिल्लाका ७४४ स्थानीय तहमा विस्तार भएको छ र ४६९७ मध्ये ४३२४ स्थानमा सञ्चालनमा छ।

कम्पनीले थप ३३३ ईनोडबीको पूर्वाधार तयारी गरिरहेको छ र १२०० थप ईनोडबीका लागि बोलपत्र प्रक्रिया अन्तिम चरणमा छ।

हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशतभन्दा बढी फोरजी सेवाबाट हुने गरेको छ र फोरजी भोल्टे प्रयोगकर्ता ५८ लाखभन्दा बढी पुगेका छन्।

कार्यक्रममा फाइभजी सेवाबारे टेलिकमले प्रस्ट खुलाउन सकेन। कार्यक्रममा फाइभजी सेवाका लागि व्यावसायिक रणनीतिको अध्ययन अन्तिम चरणमा पुगेको र सरकारको निर्देशन बमोजिम यो प्रविधि भित्र्याउने योजना रहेको जनाएको छ।

भीओवाईफाई सुरु

कार्यक्रममा टेलिकमले भीओवाईफाई नामक सेवाको व्यावसायिक सुरुवात गर्यो। टेलिकमका अनुसार मङ्गलवारबाट सुरु भएको यो नयाँ सुविधा नेपाल भित्रबाट प्रयोग गर्दा अहिलेका प्याकेजहरूको भ्वाईस/ एसएमएस रिसोर्सेज तथा पेएजयूगो बराबर सेवा शुल्क लाग्ने र नेपाल बाहिरका हकमा इन्कमिङ्ग कल निःशुल्क र आउटगोईङ्गको ३ रुपैयाँ प्रतिमिनेट शुल्क लाग्नेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलवार यसको सुरुवात गरेका थिए।

टेलिकमकाअनुसार यस प्रविधि मार्फत भीओवाईफाई सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएको जुनसुकै मोबाइलमा देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्क मार्फत नेपाल टेलिकमकै मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस गर्न सकिन्छ।

माघ २२, २०८१ मंगलबार १९:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।