चार खेलमा हारेको नेपाल उपाधि होडबाट पनि बाहिरियो

काठमाडौं : त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले हार बेहोरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो।
थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।
नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्। यस्तै, कविता जोशीले २४ रन बनाउँदा रोमा थापाले १९ र पूजा महतोले १८ रन जोडे।
थाइल्यान्डकी थिपात्चा पुथाअवाङले चार विकेट लिइन्। फनिता मायाले दुई विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो।
थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए। नानपत कोन्चारोन्काइले १९ रन बनाइन्। अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे।
नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन्। पूजा महतो र रचना चौधरीले एक/एक विकेट लिए।
नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो। चौथो हारसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ।
थाइल्यान्डको भने यो लगातार चौथो जित हो।
माघ २२, २०८१ मंगलबार १७:४७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।