'हिजो जंगलमा रहँदा जनताको काखमा थियौं, पछि दलाल र बिचौलियाको घेरामा फस्यौं'

'हिजो जंगलमा रहँदा जनताको काखमा थियौं, पछि दलाल र बिचौलियाको घेरामा फस्यौं'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन आफूहरूले ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय केही त्रुटि गरेको स्वीकार गरे। 

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हामीले पार्टी एकता कायम राख्न नसकेको अनि आफ्नो वर्ग र समुदायबाट केही टाढा भएको बताए। 

उनले भने, ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन, जनताको काखमा थियौं। बरू पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौं।’  

अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने दाबी गर्दै प्रचण्डले भने, ‘०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ।’ 

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए। 

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको भन्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत व्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए। 

माघ २२, २०८१ मंगलबार १५:५९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।