घोषणामै रमाएका निर्माता सापकोटा : पाँच वर्षसम्म पनि बनेन ‘चिलगाडी’, जुरीविनाको ‘रियालिटी शो’ ल्याउँदै

घोषणामै रमाएका निर्माता सापकोटा : पाँच वर्षसम्म पनि बनेन ‘चिलगाडी’, जुरीविनाको ‘रियालिटी शो’ ल्याउँदै

काठमाडौं : चलचित्र ‘चिलगाडी’ घोषणा गरेको पाँच वर्षसम्म निर्माण गर्न नसकेका निर्माता रघुनाथ सापकोटाले कमेडी रियालिटी शो ‘कमेडी किड्स’ घोषणा गरेका छन्।

वसन्त पञ्चमीको अवसरमा मध्य बानेश्वरस्थित लन्ज एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्ट खाकाविनै रियालिटी शोको औपचारिक घोषणा गरेका हुन्।

४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई केन्द्रीत गरी बनाउन लागिएको कमेडी रियालिटी शोको डिजिटल अडिसन फागुन महिनाको पहिलो सातादेखि सुरू हुनेछ।

सन्तोष खनालको निर्देशनमा बन्न लागेको शो कुन टेलिभिजनबाट प्रसारण हुने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागेको छैन। तर डिजिटल र भोटिङ पार्टनरको रूपमा भने क्रमश: ओएसआर डिजिटल र ओएसआर कनेक्ट आबद्ध भइसकेको छ।

रियालिटी शो घोषणा भए पनि जुरी प्यानल, प्रसारण मिति र पुरस्कार राशीको बारेमा जानकारी गराइएन।

पाँच वर्षअघि अभिनेता नाजिर हुसेनलाई मुख्य भूमिकामा राखेर घोषणा गरिएको ‘चिलगाडी’ बनाउन नसक्दै नयाँ शो घोषणा गर्दा उनीमाथि थप प्रश्न उठाउने ठाउँ देखिएको छ।

‘चिलगाडी’ उनले घोषणा गरेको पहिलो चलचित्र थियो। ‘चिलगाडी’को बारेमा साेध्दा उनले फिल्म बन्ने दाबी गर्छन्, यद्यपि अहिले त्यस्तो अवस्था देखिँदैन।

पहिलो फिल्म घोषणा गरेर बनाउन नसकेको जस्तो पहिलो रियालिटी शो घोषणा भएर पनि यसका धेरै पक्षहरूबारे निर्माण टिम अनविज्ञ छ।

यसले पनि सापकोटाको पहिलो रियालिटी शो पहिलो फिल्मकै लाइनमा रहेको देखिन्छ।

माघ २२, २०८१ मंगलबार १३:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।