ट्रम्पले ३० दिनका लागि रोके क्यानडामाथि लगाउने भनिएको २५ प्रतिशत कर

ट्रम्पले ३० दिनका लागि रोके क्यानडामाथि लगाउने भनिएको २५ प्रतिशत कर

एजेन्सी : अमेरिकाले क्यानडामाथि ३० दिनको लागि कर लगाउने निर्णय रोक्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुष्टि गरेका छन्।

क्यानडाले फेन्टानिल जस्ता अवैध लागूऔषधहरूलाई क्यानडाको सीमाबाट अमेरिका प्रवेश गर्नबाट रोक्न कदम चालेपछि ३० दिनको लागि कर रोक्ने निर्णय गरिएको उनले बताए।

‘क्यानडाले संयुक्त राज्य अमेरिकासँगको आफ्नो उत्तरी सिमाना सुरक्षित रहने कुरा सुनिश्चित गरेको छ’, ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेखे।

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको एउटा पोस्ट उद्धृत गर्दै सीमा सुरक्षाका लागि १.३ अर्ब क्यानेडियन डलर खर्च गर्ने वाचा गरेको बताए।

ट्रुडोले क्यानडा-अमेरिका सीमाको निगरानी गर्न र लागूऔषध कार्टेलहरू विरुद्ध कारबाही गर्न एक अधिकारी नियुक्त गरेका छन्।

दुई दिनअघि, डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५-२५ प्रतिशत र चीनमा १० प्रतिशतको भन्सार शुल्क घोषणा गरेका थिए।

माघ २२, २०८१ मंगलबार ०७:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।