सरस्वती पूजामा विद्यालयभित्र दलितमाथि जातीय विभेद, पुजारीले माफी मागेपछि 'सहमति'

सरस्वती पूजामा विद्यालयभित्र दलितमाथि जातीय विभेद, पुजारीले माफी मागेपछि 'सहमति'

काठमाडौं : अछामको साँफेबगर नगरपालिका-९ स्थित बुढाकोट माविमा सरस्वती पूजामा दलितलाई विभेद गरिएको छ। 

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई पूजा गर्ने क्रममा त्यहाँकै स्थानीय ब्राह्मण चेतराज भट्टले टीका नलगाएर विभेद गरेका हुन्। 

परियारका अनुसार विद्यालयको सरस्वती मन्दिरमा पुजारीको रुपमा चेतराज भट्ट आएका थिए। तर, ती पुजारीले परियारसहित दलित विद्यार्थीलाई सालको पातमा टीका राखेर भुइँमा राखिदिए। 

शिक्षक अभिभावक संघका अध्यक्षसमेत रहेका परियारले आफूलाई रातो टीका सालको पातमा बेरेर टाढैबाट भुइँमा राखिदिएको बताए। 

‘सरस्वती माताको मन्दिरमा म र मेरी श्रीमती भेटी चढाउन गयौं। विद्यालयले बोलाएका पुजारीको हातबाट अरूले टीका लगाइरहेका थिए। म पनि टीका लगाउन पुगेँ। तर उहाँले सालको पातमा टीका बेरेर भुइँमा राखिदिनुभयो। विभेद गरिएपछि टीका लगाउदिनँ भनेर त्यहाँबाटै बाहिरिएँ,’ उनले भने।  

तीन कार्यकालसम्म शिक्षक अभिभावक संघको अध्यक्ष भइसकेका उनले पोहोर साल पनि यस विद्यालयमा सरस्वती पूजामै आफूलाई विभेद गरिएको सुनाए। विद्यालयद्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रमहरूमा समेत दुई वटा भान्सा बनाउने गरिएको परियारको भनाई छ। 

विद्यालयका प्रधानाध्यापक चक्र कुँवरले परियारलाई पुजारी भट्टले पातमा टीका बेरेर भुइँमा राखिदिएको स्वीकार गर्दै पुजारीलाई आफूले पनि त्यसो नगर्न भनेको बताए। 

‘गुरुले केहीलाई टीका लगाए। धेरै जना टीका लगाउन बाँकी थिए। सर्जन परियार पनि टीका लगाउन गएका बेला गुरुले पातमा राखेर आफैं लगाउन भन्नुभयो। सार्वजनिक स्थलमा कसैलाई यसरी विभेद गर्न पाइँदैन। बरू तपाईं कसैलाई टीका नलगाउनूस् भनेर मैले पनि त्यही बेला गुरुलाई भनेको हुँ, उनले भने। 

वडा कार्यालयको रोहबरमा सहमति 
परियारले आफूलाई सार्वजनिक स्थलमा अपमानजनक जातीय विभेद भएको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि सरस्वती पूजामा विभेद गर्ने पुजारी भट्टले माफी मागेका छन्।

शिक्षक अभिभावक संघका अध्यक्ष परियारलाई टीका लगाउन नमानेर, पातमा टीका राखेर, भुइँमा फाल्दिएका भट्टविरुद्व आजै वडा कार्यालय र विद्यालयमा निवेदन दिएका थिए।

उनले दिएको निवेदन अनुसार छलफल गराउन तत्काल विद्यालय प्रशासन र वडा कार्यालयले दुई वटै पक्षलाई बोलाइ सहमति गराएको छ।

विद्यालयमा पूजा गराउन गएका ४५ वर्षीय भट्टले पनि भुइँमा टीका राखेर दिएको कुरा स्विकार गर्दै छलफलमा माफी मागेका छन्। 

'अबदेखि मठ मन्दिर र सार्वजनिक स्थलमा कुनै पनि विभेद गर्ने छैन, सहमति पत्रमा उल्लेख छ।

माघ २१, २०८१ सोमबार २१:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।