सुस्मिताको ठगी धन्दा : कैदको फैसलापछि भागेर काठमाडौं, चेक बाउन्सका चार मु्द्दा अदालतमा विचाराधीन

सुस्मिताको ठगी धन्दा : कैदको फैसलापछि भागेर काठमाडौं, चेक बाउन्सका चार मु्द्दा अदालतमा विचाराधीन

सुर्खेत : बुटिक सेन्टरको आडमा रकम असुली गरी चेक अनादर (बाउन्स) गरेको आरोपमा प्रहरीले एक महिलालाई काठमाडौंबाट पक्राउ गरी सुर्खेत ल्याएको छ।

पाँच वटा चेक अनादर गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ की २७ वर्षीया सुस्मिता परियारलाई माघ १५ गते पक्राउ गरी सुर्खेत ल्याएको हो। पाँचमध्ये एउटा मुद्दामा अदालतले उनलाई एक वर्षको सजाय समेत सुनाइसकेको प्रहरीले जनाएको छ।

अदालतले सजाय सुनाएपछि भागेकी उनलाई डेढ वर्षपछि काठमाडौंबाट पक्राउ गरेको हो। सुर्खेतबाट भागेर काठमाडौं गएकी उनले त्यहाँ पनि बुटिक चलाएर रकम असुली धन्दा चलाइरहेको सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।

उनले भने, ‘उनले अदालतबाट सजाय पाए पनि काठमाडौंको रातो पुलमा बुटिक खोलेकी उनले त्यहाँ पनि ठगी गर्दै आएकी रहिछन्। उनले धेरै सिम कार्ड प्रयोग गरी पटक-पटक मोबाइल नम्बर परिवर्तन गर्ने गर्थिन्।’

माघ १५ मा अनामनगरबाट पक्राउ गरी सुर्खेत ल्याइएकी उनलाई फैसला कार्यान्वयनका लागि माघ १८ मा कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

‘फैसला कार्यान्वयनका लागि उन(सुस्मिता)लाई कारागार चलान गरिएको छ। उनको रेकर्डमा थप चार मुद्दा टुङ्गिन बाँकी नै छन्’, उनले भने।

तीन वर्षअघि पनि सुस्मितालाई चेक अनादरको मुद्दा लागेको थियो। उक्त मुद्दामा रकम फिर्ता गरेपछि छुटेकी थिइन्। त्यससता उनले पहुँच माथिसम्म भएको दाबी गरी पीडितहरूलाई धम्काउने गरेको प्रहरीले जनाएको छ।

एसपी खड्काले भने, ‘पाँच वटा मुद्दा दर्ता हुँदा पनि प्रहरीसँग आफ्नो नजिकको सम्पर्क भएको भन्दै विभिन्न व्यक्तिहरूलाई थर्काउँदै हिँड्ने रहेछिन्।’

सुस्मिताले २०८० सालमा विभिन्न व्यक्तिहरूबाट ऋणको नाममा रकम असुली गरेको र उक्त रकम फिर्ता गर्नका लागि चेक दिए पनि त्यो बाउन्स भएपछि मुद्दा दर्ता भएको हो।

अहिले उनीविरुद्ध २०८० बैशाख ४ मा ४ लाख, जेठ १४ मा ५ लाख, असोज ९ मा २ लाख र असोज २१ मा १८ लाख रुपैयाँ ब्याजसहितको चेक अनादरका मुद्दा अदालतमा विचाराधीन छन्।

माघ २१, २०८१ सोमबार १०:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।