सञ्चारकर्मी अन्जुको प्रसव पीडा र खुसी : डेलिभरीको समय हुँदा अर्कै खालको दुखाइ हुने रहेछ

सञ्चारकर्मी अन्जु कार्की अहिले विभिन्न समसामयिक विषयमा लेख्ने गर्छिन्। दश वर्षअघि आफ्नो श्रीमान् गुमाएपछि उनी लेखन कार्यमा थप सक्रिय हुन थालिन्। यसअघि उनले लामो समय भिडियो सम्पादनमा काम गरिन्।
श्रीमान् बितेपछि एकल महिला भएर बाँच्नु पर्दाको नमिठो पीडा उनले बिर्सिन सकेकी छैनन्। ‘विधवा भएर रातो कपडा लगाउन हुन्न, तिमि मन्दिर न आउँ, भगवान् किन मान्न पर्यो, व्रत किन बस्न पर्यो’ भन्ने लगायतका थुप्रै बन्देज उनले सहन पर्यो। त्यसपछि उनले एकल महिलाको अवस्थाबारे लेख्न थालिन्।
मोरङमा जन्मिएकी उनको स्नातकसम्मको पढाइ उतै भयो। बुबा शिक्षक भएकाले स्नातकसम्म उनले पढाइमा कुनै अप्ठ्यारो भएन। स्नातक सकिएसँगै ‘काठमाडौँमा घर भएको, जागिर भएको, भलाद्मी केटा’ भनेर उनको मागी विवाह गराइयो।
अहिले उनी दुई सन्तानको आमा समेत हुन्। दुवै सन्तान भए पछि नै उनले टेलिभिजनमा काम गर्ने मौका पाइन्। अनि स्नातकोत्तर पनि गरिन्। उनै अन्जुले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी सुनाइन् :
OOO
काठमाडौँमा बस्ने, पढे लेखेको भलाद्मी परिवार भनेपछि मेरो मागी विवाह भयो। अनि म काठमाडौँ नै बस्न थालेँ। श्रीमान् नेपाल टेलिभिजनमा काम गर्नुहुन्थ्यो। पछि मैले पनि च्यानल नेपालमा भिडियो सम्पादन सिक्ने अनि काम गर्ने मौका पाएँ।
त्यसबेला मेरो छोरी जन्मिसकेकी थिइन्। बच्चा भएपछि काम गर्न त गाह्रो नै छ। दुवैतर्फ समय मिलाउन निकै चुनौती हुने गर्छ। मेरो दुई सन्तान छन्। विवाह भएको पाँच वर्षपछि पहिलो सन्तान भयो।
हामीले सन्तानबारे अगाडि नै कुनै योजना बनाएनौँ। अलि ढिला नै होस् भन्ने थियो। ढिला गर्दा गर्दा बिचमा गर्भ नै बसेन। अनि पछि नानी पाएँ। एकदम चाह गरेर भएको भएर पनि होला, म धेरै उत्साहित भएकी थिएँ त्यसबेला। घरमा पनि एकदम खुसीको माहौल थियो।
पहिलो भएर होला सुरुमा त निकै अप्ठ्यारो भयो। तर त्यो बेलासम्म मैले कुनै पनि बाहिरी काम नगरेको भएर आफ्नो स्वास्थ्यलाई राम्रोसँग समय दिन पाएँ। आफ्नै पनि ख्याल गर्न पाएँ।
बान्ता आउने, कमजोरी हुने भए पछि त खाना नै रुचिरहेको थिएन। गर्भवती भएको चार महिना पछि चैँ खाना रुच्न थालेको हो। धेरै कमजोरी महसुस हुँदा ओहो आमा बन्न गाह्रो रहेछ भन्ने लागेको थियो। अनि फेरि एक मनले म पनि आमा बन्दै छु भन्ने हुन्थ्यो। एकदम मिश्रित अनुभव थियो त्यो।
श्रीमान् सधैँ राति मात्र घर आउनु हुन्थ्यो। बेला बेला त एक्लो भएर अत्यास पनि लाग्थ्यो। पेटमा बच्चा चल्दै गर्दा अर्कै अनुभव हुने रहेछ। सुरुमा त के हो के हो भन्ने पनि भयो। अनि डेलिभरीको समय हुँदा अर्कै खालको दुखाइ हुने रहेछ।
दुखाइ भएपछि महिना पनि पुग्यो भनेर हस्पिटल गयौँ। साथमा मेरो आमा अनि एक जना दिदी हुनुहुन्थ्यो। त्यसबेला श्रीमान् त अफिसमै हुनुहुन्थ्यो। श्रीमानलाई प्रसव कक्षमा पस्न दिँदैनथ्यो। त्यै भएर पनि काम सक्काएरै आउनुभयो।
हस्पिटलमा भर्ना भएको केही समयमा मैले छोरीलाई जन्म दिएँ। त्यसबेला सरकारी हस्पिटल भने पछि राम्रो हुँदैन भन्ने एउटा छाप थियो। तर मलाई त त्यस्तो नराम्रो पनि लागेन।
सबै जनाले राम्रोसँग समन्वय गरिरहनु भएको थियो। मैले हस्पिटलकै खाना खाएको त्यसबेला पनि। एकदम राम्रो अनुभव थियो।
आमा नजिकै हुनुहुन्थ्यो। आमालाई मैले मेरो पीडा थाहा नहोस् भनेर निकै सहेर बसेँ। मलाई गाह्रो भयो भन्ने थाहा भयो भने आमा चिन्तित हुनुहोला भन्ने मनमा लाग्यो। त्यै भएर पनि जति गाह्रो भए पनि सहेँ। नानी जन्मिएपछि भने सबैले मलाई भेट्न आउनु भएको थियो।
तत्काल स्तनपान गराउन पनि मलाई गाह्रो भएको थियो। सुरुमा दुधनै आइरहेको थिएन। फेरि ल्याकटोज पनि खुवाउन हुन्न, आमाकै दूध खुवाउन पर्छ भन्ने थियो। बल्लबल्ल स्तनपान गराएको हुँ। नानी एकदम स्वस्थ अनि राम्री थिइन्। अहिले पनि उनी निकै राम्री छिन्।
मेरो सुत्केरी स्याहार पनि राम्रो भयो। त्यो बेला झन्डै ८० केजीको भएकी थिएँ म। सबैले दुइटा सन्तान हुन पर्छ भन्थे। अझ धेरैले त अब एउटा छोरा चाहिन्छ नै भन्थे। हामीले पनि अब एउटा छोरा नै होस् भन्ने सोचेका थियौँ। अनि दश वर्ष पछि हाम्रो अर्को सन्तान भयो।
दश वर्षपछि त हामी मजाले तयार भइसकेका थियौँ। पहिलो पटक गर्भवती भएको भन्दा निकै भिन्न अनुभव भयो। एकदम सहज भयो। अनुभवी नै भएको जस्तो हुन्थ्यो।
अगाडिको जस्तो कमजोरी महसुस भएन। अगाडि खाना नरुचेको मलाई पछि त खाएर अघाएको भन्ने नै हुँदैनथ्यो। जति खाए पनि रुच्ने।
त्यसबेला धेरै कुरा थाहा भयो। पहिला त बच्चा चल्दा पनि आत्तिने जस्तो भएको थियो, म पछि त चलेन भने किन चलेन भनेर सोच्थेँ। मैले दोस्रो पटक गर्भवती हुँदा त्यो निकै इन्जोय गरेँ। डेलिभरीको लागि भनेर थर्मस, ब्याग सबै तयारी गरेकी थिएँ।
प्रसव व्यथा लागेको थाहा पाउने बित्तिकै म आफै हस्पिटल गएँ। बाबु जन्मिएपछि मात्र घरबाट सबै जना आउनु भएको थियो। सुत्केरीलाई भनेर हस्पिटलबाट ट्याक्सी भाडा पनि दिएको थियो। त्यसैले ट्याक्सी भाडा समेत तिरेर म आएको थिएँ। म सक्छु भन्ने हिम्मत पनि आएछ।
बाबुलाई पनि सजिलैसँग जन्म दिएँ। केके खानु पर्छ, के गर्नु पर्छ भन्ने थाहा भए पछि त म आफै आफ्नो ख्याल राख्न सक्ने भएकी थिएँ। पहिले छोरी एक्लै हुँदा उ त एकदम पुलपुलिएकी थिइन्। कसैलाई पनि नटेर्ने, जिद्दी स्वभावको। हामीले पनि एउटा त हो भनेर उसलाई कहिले पनि नाइँ भनेनौ।
तर आफू जस्तै उमेरको मान्छेको साथ भएन भने पनि बच्चाहरू अर्कै हुने रहेछ। अहिले पनि नानी त अलि जिद्दी स्वभावकै छिन्। तर बाबु त्यस्तो भएन। हामीले उनलाई धेरै छुट दिएनौ।
नानीको एसइई हुँदा उसको ड्याडी नराम्रोसँग बिरामी हुनुभयो। त्यसबेला नानीलाई हामीले होस्टेलमा राखेका थियौँ।
त्यो बिरामीबाट उसको ड्याडी बित्नुभयो। उसको परीक्षामा असर हुन्छ भनेर मैले थाहा दिइन। उसको परीक्षा सकिएपछि ड्याडीको बारेमा भन्दा आकाश खसेको जस्तै भएको थियो।
अहिले नानीको विवाह पनि भइसक्यो। बाबु त पढ्दै छ। उनीहरूको ड्याडी नभए पछि मैले नै ड्याडीको कमी पनि पुरा गर्न पर्यो। तर पनि उहाँको अभाव त सधैँ रहिरहन्छ। सबैले त्यो कमी एक अर्काबाट भने लुकाइरहेका हुन्छौँ।
मैले जति जाने, जति सके उनीहरूको लागि गरे जस्तो त लाग्छ। तर पनि ड्याडीले दिने माया दिन त मैले सक्दै सकिन।
मलाई रातो लुगा लगाउँदा, मन्दिर जाँदा धेरै अप्ठ्यारो भयो। अहिले त बरु पहिलाको जस्तो समाजको रोकटोक कम भएको छ। तर पनि एकल महिलाको लागि समाज त गाह्रो चिज नै रहेछ। त्यस्तो बेलामा आफ्नो सन्तानलाई ती कुराहरूबाट पनि टाढा राख्नु झन् गाह्रो काम रहेछ।
माघ २०, २०८१ आइतबार २०:३३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।