एकीकृत समाजवादी र माओवादीबीच एकता गराउन तम्सिएका हुन् प्रचण्ड?

काठमाडौं : शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपानेको नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्ने सयौं नेता कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गरे।
त्यस क्रममा अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश सदस्यसमेत रहेका नेता न्यौपानेसहित एकीकृत समाजवादीका बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायतलाई माओवादी केन्द्रमा प्रवेश गराए।
पार्टी प्रवेश गराएपछि प्रचण्डले यस प्रवेशले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सम्बन्धलाई कुनै असर नपर्ने बरू पार्टी एकतालाई सघाउ पुग्ने विश्वास व्यक्त गरे।
'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ, उनले भने।
लगभग अन्तिम चरणमा पुगेर स्थगित भएको माओवादी र एकीकृत समाजवादीबीचको एकता पक्रियाबारे प्रचण्डले त्यसरी अभिव्यक्ति दिएपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रचण्डकै कारण एकता हुन नसकेको भन्दै एकीकृत समाजवादीका नेताहरूले आरोप लगाइरहेका बेला प्रचण्ड फेरि एकताको पक्षमा उभिएको संकेत गर्दै नेताहरूले यसलाई सकारात्मक रूपमा लिइएको पाइयो।
प्रचण्डको त्यस अभिव्यक्तिपछि एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसालले भनेका छन्, 'नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको आवश्यकता छ। यसको बोध हामीले मात्रै गरेर हुँदैन, माओवादीले मात्रै गरेर पनि हुँदैन। सबै कम्युनिष्टहरूले गर्नुपर्छ र अन्तत: एकतासम्म पुग्नैपर्छ।'
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा पनि एकीकृत समाजवादीसँग एकताको आधार तयार भइरहेकै बताउँछन्।
'हाम्रो अध्यक्षले भन्नुभएकै कुरा साँचो हो। एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदैछ। अहिल्यै नहोला तर, केही समयपश्चात् एकता हुन्छ र हुनु पनि पर्छ, उनले भने।
माओवादीको कारण एकता प्रक्रिया रोकिएको हो?
त्यसो त माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने भनिएको लामै समय भइसकेको छ। २०७९ भदौ ७ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने दाबी गरेका थिए।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको उनको भनाइ थियो।
नभन्दै २०७९ माघ ८ मा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताका लागि औपचारिक रुपमा वार्ता प्रारम्भ भयो। पार्टी एकताका लागि त्यसअघि नै दुबै पार्टीले पार्टी समिति बनाएका भएपनि त्यस दिन पहिलोपटक बैठक बसेको थियो। पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरूको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको थियो।
माओवादी केन्द्रका वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत अनि एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको त्यस बैठकमा दुबै पार्टीले एकअर्काका दस्तावेजहरू आदानप्रदानसमेत गरे।
तर, त्यसबेला माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार भएको र उनले एकतालाई उतिखेरै चासो नदिँदा यो प्रक्रिया थप अघि बढ्न नसकेको एकीकृत समाजवादी नेताहरूले बताउँदै आएका छन्।
तथापि माओवादीको पुस २३ मा सम्पन्न आठौँ केन्द्रीय समितिको छैटौँ बैठकले विचार मिल्ने पार्टीसँग एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गर्ने निर्णय गरेको छ। समितिले चाँडै एकता वार्ताको पहल गर्ने महासचिव देव गुरुङले बताए। उनका अनुसार माओवादीले सुरूमा एकीकृत समाजवादीसँग एकता टुंग्याउने रणनीति लिएको छ।
माओवादीले एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रभु साह नेतृत्वको आमजनता पार्टी, विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग एकताका लागि पहल गर्नेछ।
एकीकृत समाजवादीमा दुई धार हुँदा अघि बढेन एकता प्रक्रिया
एकीकृत समाजवादीमा पार्टी एकताबारे दुई धार छ। एकता गर्दै अगाडि बढ्नुपर्ने र एकतामा भन्दा संगठन निर्माणमा लाग्नुपर्नेमा एकीकृत समाजवादीका नेताहरू विभाजित छन्। एकीकृत समाजवादीको भर्खरै सम्पन्न सचिवालय बैठकले ‘आन्दोलनद्वारा पार्टी निर्माण’को प्रस्ताव पारित गरेको छ। विचार मिल्ने वामपन्थी, समाजवादी दलसँग एकता गर्दै जानुपर्ने सैद्धान्तिक निर्णय पनि एकीकृत समाजवादीको छ।
तर, महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ।
'सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,' प्रतिवेदनमा भनिएको छ, 'आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ। आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ।'
एकीकृत समाजवादीमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका दोस्रो तहका नेताहरू एकताको विपक्षमा छन्। आफूभन्दा ठूला पार्टीसँग एकता गर्दा विलय हुने र माओवादी केन्द्रसँग एकता भयो भने ठूलै सङ्ख्यामा नेताहरू एमालेमा समाहित हुने डरले अध्यक्ष नेपाल हच्किएका छन्।
फेरिपनि अध्यक्ष नेपाल आफैं भने एकताको पक्षमा छन्। भर्खरै समाजवादी मोर्चाले आयोजना गरेको एक कार्यक्रममा पनि नेपालले विचार मिल्न बाँकी दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने भनेका छन्।
'वामपन्थी, कम्युनिस्ट र समाजवादीहरूलाई एक ठाउँमा ल्याउन पहल गरौँ। अरूलाई पनि भनौँ, विचारमा भिन्नता छ भने बहस गरौँ। मन मिल्छ, विचार मिल्छ भने सँगै जाऔँ। सँगै जान मन मिल्न बाँकी छ, विचारै मिल्न बाँकी छ भने साझा विषयमा सहकार्य गरौँ, उनले भनेका छन्।
उता, पार्टी एकताको लक्ष्यसहित माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा सम्मिलित समाजवादी मोर्चाले गत साउन १ मा कार्यदल गठनसमेत गरेको थियो। माओवादी प्रवक्ता सापकोटाका अनुसार मोर्चाका सबैजसो बैठकहरूमा पनि एकताको एकताको विषयमा छलफल हुने गरेकै छन्।
त्यसमा पनि पछिल्लो समय समाजवादी मोर्चामा रहेका दलहरूसँग एकताको जोडबलमा उभिएका छन् प्रचण्ड। सरकारमा छँदा समाजवादी मोर्चालाई बेवास्ता गरेका प्रचण्डले सरकारबाट बाहिरिनेबित्तिकै मोर्चाको पटक-पटक बैठक बसाएका छन्। त्यसक्रममा उनले एकताको प्रक्रियालाई अघि बढाउन चाहेको नेताहरू बताउँछन्।
मोर्चामा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष यादव सदस्य छन्।
माघ २०, २०८१ आइतबार ११:०१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।