बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरू, उद्घाटन खेलमा चर्च ब्वाइजले पुलिसलाई हरायो

काठमाडौं : २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू भएको छ।
८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए।
प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा चर्च ब्वाइजले विभागीय क्लब नेपाल पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो।
खराब प्रकाशका कारण ८० मिनेटको निर्धारित समय तोकिएकोमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको दोस्रो मिनेटमा चर्च ब्वाइजका सन्तोष खत्रीले डि बक्सबाहिरबाट शानदार प्रहार गर्दै गोल गरेका थिए। सोही गोल नै चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त रह्यो।
आजको विजेता चर्च ब्वाइजले सोमबार हुने राष्ट्रिय जागृति क्लब र भुटानको टिमबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। आइतबार भने धरान फुटबल क्लब र भारतको युके एफसी आमनेसामने हुने छन्।
उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन्।
म्यान अफ द म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार पुरस्कार पाउनेछन्।
माघ १९, २०८१ शनिबार १९:१३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।