यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते

यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन्। 

विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकआपसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शङ्करको मृत्यु भएको हो। 

हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए। 

काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकआपसमा ठोक्किएका हुन्। 

हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

माघ १९, २०८१ शनिबार १६:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।