एकीकृत समाजवादीका कार्यकर्ता माओवादीमा प्रवेश गराएपछि प्रचण्डले भने 'हाम्रो एकता प्रक्रिया सहज हुँदैछ'

एकीकृत समाजवादीका कार्यकर्ता माओवादीमा प्रवेश गराएपछि प्रचण्डले भने 'हाम्रो एकता प्रक्रिया सहज हुँदैछ'

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरू भएको बताएका छन्। 

माओवादी केन्द्र चितवनले गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताए। 

अध्यक्ष प्रचण्डले अहिले देशभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको भन्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताएका छन्। 

एकीकृत समाजवादका नेता कार्यकर्ता माओवादी केन्द्रमा
कार्यक्रममा अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका थिए।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य थिए। 

त्यस्तै, एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

यसबारे अध्यक्ष प्रचण्डले आफूहरू एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए। 

यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने प्रचण्डको विश्वास छ।

'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ, उनले भने।  

 

माघ १९, २०८१ शनिबार १५:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।