विष्णुसँग बिहे गर्नु हतारको निर्णय थियो, समय बित्दै जाँदा मैले उहाँका अपेक्षा पूरा गर्न सकिँन : एलिना

विष्णुसँग बिहे गर्नु हतारको निर्णय थियो, समय बित्दै जाँदा मैले उहाँका अपेक्षा पूरा गर्न सकिँन : एलिना

काठमाडौं : गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको भन्दै विवाह हतारको निर्णय भएको बताएकी छन्। 

काठमाडौं जिल्ला अदालतमा पति विष्णुसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले प्रेममै हुँदादेखि सम्बन्धमा खटपट भएको भएपनि समय बित्दै जाँदा सहन नसकेको बताइन्। 

‘समय बित्दै जाँदा सहन सकिँन। उहाँका अपेक्षा मैले पूरा गर्न सकिँन,’ एलिनाले भनेकी छन्।

आफूहरू दुईजना र परिवारले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको दाबी गरेकी छन्। 

‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न। सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ। बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन्,’ उनले भनेकी छन्। 

यो निर्णय सोचेर लिएको भन्दै मनमुटाव हुँदाहुँदै भोलि दुर्घटना भयो भने के गर्ने? भन्दै उनले प्रश्न गरेकी छन्।

उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा पति विष्णु मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी छिन्। 

आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैंले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन्।   

माघ १९, २०८१ शनिबार १४:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।