फिल्ममा बौद्धिक चोरी : ‘पूर्णबहादुर’को टिम सक्सेस् पार्टीमा रमाउँदा ‘लाज’का लेखक प्रहरी कार्यालय धाउँदै

काठमाडौँ : फिल्म पूर्णबहादुरको सारङ्गीको टिम अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको सफलतामा रमाइरहँदा लेखक अजित लामिछाने ‘कथा चोरी’ मा न्याय खोज्दै प्रहरी कार्यालय धाइरहेका छन्।
नेपाल प्रतिलिपि अधिकार रजिस्टार कार्यालयमा उनले दिएको निवेदन जिल्ला प्रहरी परिसर काठमाडौँमा आएर थन्किएको छ। तीन पटक टिमसँग प्रहरी कार्यालयमै छलफल पनि भइसक्यो। तर, निकास निस्किएको छैन।
आफ्नो फिल्म ‘लाज’को कथासार र केही प्लट तोडमोड गरेर निर्देशक पौडेलले पूर्णबहादुरको सारङ्गीमा राखेको दाबीमा लामिछाने अडिग देखिन्छन्। उता पूर्णबहादुरको सारङ्गीको टिमका सदस्य भने 'हैन' र 'संयोग' भन्ने बाहेक कथा आफ्नै हो भन्ने प्रमाण पेश गर्न सकेको देखिएन।
जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेको उजुरीमा लामिछानेले आफ्नो कथा र पटकथाको सिन बाई सिनको प्लट समेत बुझाएका छन्। त्यसमा ४० हाराहारीको पल्ट मिलेको देखिन्छ।
प्रहरीले उजुरी त लिएको छ तर दुवै पक्षसँग छलफलबाट समाधान निस्कन्छ कि भनेर जाहेरीको रूपमा दर्ता भने गरेको छैन।
‘पूर्णबहादुरको सारङ्गी’को निर्देशकसँग स्क्रिप्ट मागिरहेको छ प्रहरी र लामिछानेले। तर, उनीहरूले बुझाएका छैनन्। सारङ्गी टिमका सदस्यहरू तीन पटक प्रहरीसँगको छलफलमा बस्दा 'संयोग हो' भन्ने तर्क मात्र गरिरहेको देखियो।
अजित आफूले पूर्णबहादुरको सारङ्गीका निर्देशक सरोज पौडेललाई पहिला नै कथा सुनाउँदा आफ्नो कथा चोरिएको दाबी गर्छन्। उता निर्देशक पौडेल भने यो दाबी अस्वीकार गर्छन्। उनीसँग 'हैन' भन्ने बाहेक थप प्रमाण भने देखिँदैन।
सक्कली कथा हो भने प्रहरीमा स्पष्ट स्क्रिप्टको प्रमाणसहित उपस्थित हुन अप्ठ्यारो नहुनुपर्ने हो। तर, उनीहरूले पेश गरेको देखिएन।
‘मेरो लाज नामक फिल्मको स्क्रिप्ट पूर्णबहादुरको सारङ्गीको हरेक प्लटहरूसँग मिलेको देखेपछि नै म कानुनी कारबाहीको प्रक्रियामा गएको हुँ। फिल्मको प्लटसँगै पात्रहरू समेत मिलेका छन्,’ लामिछाने दाबी गर्छन्, ‘मैले उहाँहरूसँग मेरो सृजनाको क्रेडिट मात्र खोजेको हुँ। तर, उहाँहरू प्रमाण देखाउनुको साटो ढिपी कसेर बस्नुभएको छ।’
उनले उजुरीसँगै पूर्णबहादुरको सारङ्गीमा रहेको आफ्नो लाज फिल्मको प्लट र पात्रको चरित्रसमेत उल्लेख गरेर बुझाएका छन्। त्यसमध्ये एकमा लाजको मुख्य पात्र बल्ली आफ्नो बाबुको मृत्युपछि परम्परालाई धान्दै जमिनदारको घरमा कमैया बस्ने उल्लेख छ। यता पूर्णबहादुरको सारङ्गीमा बुबाको मृत्युपछि उसको बाबुले सारङ्गी हस्तान्तरण गर्ने राखिएको छ। उजुरीमा यस्ता धेरै प्लटहरू छन् जुन दुवैमा समान देखिन्छन्।
आफूले फिल्म बनाउँछन् कि भनेर कथा पूर्णबहादुरको सारङ्गीका कथाकार तथा निर्देशक सरोज पौडेललाई सुनाउँदा यस्तो अवस्था सिर्जना भएको लामिछानेको दाबी छ। तर, पौडेल फिल्म बनाउनुभन्दा अगाडि लामिछानेसँग भेट समेत नभएको दाबी गर्छन्। तर लामिछाने भने पौडेलको श्रीमतीले आफूसँग गरेको कुराकानीको अडियो रहेको बताउँछन्।
‘एउटा, दुई वटा प्लट मिल्नुलाई संयोग मानिन्थ्यो होला तर हरेक प्लट मिल्नुलाई कसरी संयोग मान्नु ?,’ लाजका लेखक लामिछानेले प्रश्न गरे, ‘मैले उजुरी दिएपछि निर्देशक पौडेलको श्रीमतीले फोन गरेर पहिला भेटै भएको छैन पनि भन्न सकिन्छ भनेर मिल्न दबाब दिएको अडियो मसँग छ। अहिले यही दाबी गरिरहेका छन्।’
लामिछानेका अनुसार उनले आफ्नो स्क्रिप्ट पूर्णबहादुरको सारङ्गीका निर्देशन पौडेलसँगै अर्का निर्देशक दीपक ओलीलाई पनि सुनाएका थिए। आफूसँग पैसा नभएपछि आफ्नो स्क्रिप्टमा फिल्म बनाउँछन् कि भनेर सुनाउँदा कथै चोरी होला भनेर नसोचेको उनले उकेरासँग बताए।
उनको दाबी अनुसार रामबाबु गुरुङदेखि दीपक ओलीसम्मलाई उनले स्क्रिप्ट इमेल गरेका थिए। रामबाबु गुरुङसँग त बालुवाटारमा भेटेर कथा नै सुनाएको तर उनले कुनै प्रतिक्रिया नदिएको अजितले दाबी गरे।
पूर्णबहादुरको सारङ्गीमा गुरुङको कम्पनी समेत जोडिएको छ। प्रहरीमा भएको छलफलमा रामबाबु समेत पुगेका थिए। उनले प्रहरीसामु इमेलमा धेरै स्क्रिप्टहरू आइराख्ने र सबै हेर्न सम्भव नहुने जवाफ दिएको देखियो।
फिल्मका लेखक समेत रहेका निर्देशक सरोज पौडेलसँग उकेराले यो विवादबारे जिज्ञासा राख्दा उनले कसैको कथा नचोरेको दाबी गरे। उनले लेखक लामिछानेसँग फिल्म बनाउनु अगाडि पहिला भेट पनि नभएको र उजुरी परेपछि मात्रै कुराकानीका लागि भेट भएको दाबी गरे।
आफ्नो बुवाको निधन भएपछि किरिया बस्दा उब्जिएको कथालाई आफूले फिल्मको कथा बनाएको उनको दाबी छ।
‘कसैको कथा चोरेको छैन र चोरिएको होइन। नेपाली समाजमा नै भएको एक पात्रलाई उठाएको हो,’ उनको दाबी छ, ‘नेपाली समाजमा हुने कतिपय कुराहरू मिल्न पुगेको हुन सक्छ।’
लेखक तथा निर्देशक पौडेलले आफूले निर्माण टिमसँग नै बसेर स्क्रिप्ट लेखेको दाबी समेत गरे।
आफूले लेखेको कथालाई महेश दवाडीले स्क्रिप्टमा ढाल्दा फिल्मको सम्पूर्ण टिम नै बसेको उनको दाबी छ।
उनले कसैको कथासँग आफूले लेखेको कथाको स्क्रिप्ट मिल्नु संयोग मात्र भएको दाबी समेत गरे। तर, लाजका लेखकले प्रहरीमा बुझाएको जति प्लटहरू मिलेका छन् त्यति हदसम्म संयोग त नहुनुपर्ने हो।
लाजका लेखक लामिछानेको उजुरीबारे के भइरहेको छ भन्ने उकेराको जिज्ञासामा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमाकुमारी चन्दले यो विषयमा छलफल भइरहेको बताइन्।
‘दुवै पक्षलाई बोलाएर र अनुसन्धान गर्न खोजेका छौँ। उहाँहरू मिल्ने पक्षमा हुनुहुन्छ’, उनले दाबी गरिन्।
यता लामिछानेले उकेरासँग आफूले आफ्नो सृजनामा हक मात्र खोजेको बताए। फिल्म निर्माण टिमले गल्ती स्वीकार गरेर कथामा क्रेडिट दिएमा सहमति हुनसक्ने नत्र आफू आफ्नो हकका लागि अदालतसम्म जाने उनको चेतावनी छ।
लाजका लेखकले पूर्णबहादुरको सारंगीको कथासँग गरेको ट्याली
माघ १९, २०८१ शनिबार ०७:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।