हिउँदे अधिवेशनको पहिलो दिन सरकारको प्रतिरोधमा फिक्का देखिए प्रतिपक्ष, पञ्चलाइनहिन सम्बोधन

हिउँदे अधिवेशनको पहिलो दिन सरकारको प्रतिरोधमा फिक्का देखिए प्रतिपक्ष, पञ्चलाइनहिन सम्बोधन
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ : संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगाडि नै सरकारलाई घेराबन्दी गर्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको संयोजकत्वमा प्रतिपक्षमा रहेका दलहरू बैठक बसेका थिए। उनीहरूले संसद्मा सरकारको काम विरुद्ध एकीकृत रूपमा प्रतिरोध गर्ने रणनीति बनाए पनि शुक्रवारको बैठकमा उनीहरू अजेण्डाहिन देखिए।

यो बिचमा अध्यादेश, धितोपत्र बोर्डमा विवादित नियुक्ति, पाथीभरा केवलकार निर्माणकोक्रममा प्रहरीबाट भएको बल प्रयोग, निरन्तर खस्कँदो आर्थिक अवस्था र वित्तीय सुशासनको अभावमा नेपाल ग्रे लिस्टमा पर्ने जोखिम अजेण्डाहरु थिए।

योबिचमा ठुलै काण्डका रूपमा नुवाकोटको शेरादरबार उछालिएको थियो। सरकारले हालै सामाजिक सञ्जाल नियमनको आवरणमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रावधानसहितको सामाजिक सञ्जाल नियमन विधेयक दर्ता गरिसकेको छ। तर संसद्को पहिलो दिन यी कुनै पनि अजेण्डामा प्रतिपक्षी दलले बलियो प्रतिरोध देखाउन सकेनन्। अधिकांश विषयमा त उनीहरू प्रवेश नै गरेनन्।

माओवादी केन्द्रदेखि नेपाल मजदुर किसान पार्टीका सांसदसम्मले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशको औचित्यमाथि प्रश्न उठाए तर कमजोर रूपमा। शुक्रवारकै बैठकमा सरकारले ६ वटै अध्यादेश पेस गरिसकेको छ।

सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधको नियन्त्रणमा नेपालले अपनाएको कमजोर नीति र फितलो कार्यान्वयनका कारण नेपाल लगभग ग्रे लिस्टमा पर्ने पक्कापक्की देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा यो जोखिम पनि खुलाए तर त्यसको दोष हिजोको सत्ताको नेतृत्वकर्ता अनि अहिलेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई लगाए। माओवादी केन्द्रकातर्फबाट संसद्मा बोलेका प्रमुख सचेतक हितराज पाण्डेले त्यसको बलियो प्रतिरोध गर्न सकेनन्।

अध्यादेशको विरोध गर्दा संसदीय समितिमा विचाराधीन रहेको विधेयक लगेर किन अध्यादेशको रूपमा ल्याएको, सांसदबाट छलफल गरेर कानुन बनाउनुको साटो किन प्रक्रिया छलेको जस्ता फितलो प्रविधिगत प्रश्न उठाए, अध्यादेशको प्रावधानभित्र प्रवेश गरेर सरकारको बदनियत देखाउन सकेनन्।

विपक्षीले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप त लगाए तर भ्रष्टाचार गरेको भए प्रमाण देखाउ भन्ने प्रधानमन्त्री ‌‌ओलीको चुनौती सामना गर्ने तहको दम देखिएन। त्यही भुटानी शरणार्थी लगायतका पुरानै दाबीहरू दोहोर्याए उनीहरूको।

सत्तापक्षको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली अनि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सम्बोधन गर्दा बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सचेतक हितराज पाण्डेलाई पठाए। पाण्डेको तर्क, खण्डन र दाबीहरू निकै फितला देखिए।

पाण्डेले सरकारलाई घेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठक सुरु भए लगत्तै बोल्न खोज्न समय नदिएको घटनालाई जोडे, सरकार भ्रष्टाचारमा लिप्त रहेको उदाहरण दिन आफ्नै नेतृत्वमा रहेको सरकारको बेलामा सुरु भएको उही पुरानो नक्कली भुटानी शरणार्थी अनुसन्धानको विषय उप्काए। तर आफ्नो दल सरकारबाट हटेपछि त्यसको अनुसन्धानमा सत्ता घटकले कसरी खेले भन्ने फेहरिस्त राख्न सकेनन्। प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको रूपमा संसद्को पहिलो दिनको सम्बोधनमा उनी हल्का देखिए।

संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै अध्यादेश ल्याउनुको कारण, आर्थिक सूचकाङ्क र सरकारले गर्न खोजेका कामहरूको विवरण राखेका थिए।

उनी शुक्रवारको बैठकमा त्यति आक्रामक र घोचपेचमा उत्रिएनन्। आफू अनि आफ्नो श्रीमतीको विदेशमा लगानी रहेको भइरहेको प्रचारलाई चरित्रहत्याको प्रयास भन्दै उनले संसद् बैठकमै भ्रष्टाचार गरेको प्रमाण भए देखाउन चुनौती दिए। तर उनीपछि बोल्ने प्रमुख प्रतिपक्षी वा प्रतिपक्षी कुनै दलका नेताहरूले प्रमाण त परको कुरा बलियो तर्क समेत गर्न सकेनन्।

प्रधानमन्त्रीको चुनौतीको जवाफमा ‘तपाईँले भ्रष्टाचार गर्नु भयो या गर्नु भएन थाहा छैन, तर तपाइँदा वरिपरिकाले गरेका छन्’ सम्म भने प्रतिपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले। राजतन्त्रको पुनर्स्थापना, सङ्घीयता खारेज जस्ता रसहिन अजेण्डा भन्न उनले छुटाएनन्।

पार्टीका तर्फबाट बोलेका एमाले सांसद योगेश भट्टराइले अध्यादेशको औचित्य र वर्तमान सरकारले गरिरहेको कामबारे बोल्दै सरकारको बचाउको प्रयत्न गरेका थिए। तर उनी अगाडि नै भन्नुपर्ने तथ्य र गर्नुपर्ने हल्का घोचपेच उनकै दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गरिसकेका थिए।

सरकारमा सहभागी नभएका दुई दलमध्ये अन्य दललाई अध्यादेशको विरोध गर्ने नैतिक अधिकार नरहेको फितलो तर्क गरे उनले। उनको सम्बोधनमा अबको संसद् अधिवेशनमा एमालेको भूमिका कस्तो हुनेछ भन्नेमा भन्दा पनि प्रधानमन्त्रीको बचाउमा बढी केन्द्रित देखिएको थियो।

कांग्रेसका सभापति देउवाले आफ्नै शैलीमा कसैमाथि आरोप प्रत्यारोप नगरी गठबन्धनको औचित्य र सहकार्यबारे लिखित धारणा राखेका थिए। सात बुँदे सहमतिमा प्रतिबद्ध रहेको, सबै दलको सहमतिमा संविधान संशोधन हुने अनि अर्थतन्त्रलाई चलायमान बनाउन र कानुनी बाधा फुकाउन अध्यादेश ल्याएको तर्क गरेर उनी रोस्टमबाट ओर्लिएका थिए।

चौथो दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले संसद्मा सरकारको गतिविधि र अजेण्डहरु केन्द्रित हुनुको साटो आफ्नो पार्टीका सभापति खोज्न थाले संसद्मा।

सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका कारण धरौटीमा छुटे पनि रवि लामिछानेको संसद् पदको निलम्बन फुकेको छैन। उनले दुई पटक ५० हजार भन्दा बढी मतान्तरले जितेको सांसदलाई संसद्मा आउन नदिएको जस्ता इमोसनल तर्क अनि अब हामी पनि भुटानी शरणार्थीदेखि वाइडबडीसम्ममा संसदीय छानबिन समिति गठनको माग गर्छौँ भनेर धम्क्याउने बाहेक चालु अधिवेशनमा रास्वपाको प्रस्ट अजेण्डा के हो खुलाउन सकेनन्।

विधेयकको हकमा सबै नराम्रा मात्र छैनन् भनेर उनी ब्याकफुटमा गए। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र प्रवेश नगरे पनि वाग्ले सरकारले दर्ता गराएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको विषयमा प्रवेश गरे। उनी बाहेक अन्य दलका सांसदहरूले यति महत्त्वपूर्ण विधेयकलाई वास्तै गरेनन्।

ठुला दलका सांसदहरू बोल्ने क्रम सकिदैजाँदा तल सांसद हल पनि रित्तिँदै गइरहेको थियो। स्वतन्त्र सांसद अमरेशकुमार सिंहको बोल्ने पालोमा संसद्को हल लगभग रित्तै भइसकेको थियो।

एकल प्रतिनिधित्व रहे पनि संसद् बैठकमा प्रभाव पारिरहेका चित्रबहादुर केसी फिक्का देखिए। नेपकिपाका प्रतिनिधिको आफ्नै पाराको अजेण्डाहरु राख्ने क्रम टुटेन। अमरेशले ठुला दाबीहरू गरिरहेका थिए। तर रित्तो हलमा त्यसको के प्रभाव?

डायरीमा के छ ?

अधिवेशन सुरु भएपछि पहिलो वक्ताको रूपमा रोष्टममा जानेक्रममा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हल्का भलाकुसारी गरेर एउटा डायरी दिएर रोस्टमतिर हिँडेका थिए।

प्रचण्डले हाँस्दै प्रधानमन्त्री ओलीले दिएको डायरी लिए पनि। त्यो के सम्बन्धी डायरी थियो खुलेको छैन। ओलीले शुक्रवारको सम्बोधनमा प्रमुख प्रतिपक्षीलाई जुन रूपमा खोचपेच गर्थे शुक्रवार गरेनन्।

प्रचण्डले पछिल्लो हरेक सार्वजनिक सम्बोधनमा सरकार ढली हाल्ने दाबी गर्दै आएका छन्। त्यतै लक्षित गरेर उनले ‘आजै ढल्ने, भरे ढल्ने, अहिले नै ढल्ने’ शैलीमा दाबी गर्ने गरेको भन्दै व्यङ्ग्यमा ‘ म त ढले ढले’ गीतको शब्द भनेका थिए। त्यसपछि आएका दलका नेताहरूले ओलीको कटाक्ष गर्ने प्रयास त गरे तर प्रभावशाली पञ्च लाइन भने आएनन्।

माघ १८, २०८१ शुक्रबार २०:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।