सिनियर नम्रता श्रेष्ठका कारण गाली पाइरहन्छिन् जुनियर नम्रता श्रेष्ठले

काठमाडौँ : अभिनेत्री वर्षा राउतले केही वर्षअघि मेरो इन्डियन साथीहरू रिसाउँछन् भन्दा अर्की अभिनेत्री वर्षा सिवाकोटीले गाली खाइन् सामाजिक सञ्जालमा। दुवै एकै पेसामा तर नाम मात्र समान। थर त फरक थियो।
तर वर्षा भनेपछि सिवाकोटी कि राउत भनेर हेर्ने लन्ठो कसले गर्ने। बोलिन् राउतले, गाली खाइन् सिवाकोटीले। सिवाकोटीले मैले बोलेको हैन भनेर सामाजिक सञ्जालमा लेखिन्। तर गाली रोकिएन।
नाम मिल्दा त यस्तो छ। अब पेशा पनि अनि नाम र थर पनि मिलेपछि के होला! नेपाली कला क्षेत्रमा नम्रता श्रेष्ठ नाम गरेका दुई अभिनेत्री छन्। एउटा अभिनय क्षेत्रमा जमेको तर विवादमा आएको आयै गर्ने। अर्को अभिनय क्षेत्रमा प्रभाव पार्न सङ्घर्षरत।
एक जना अभिनयको भोकले कला क्षेत्रमा ल्याएको, अर्को मिस नेपाल हुँदा पनि कला क्षेत्रमा प्रभाव पार्न सकसमा परेको। एउटाको पृष्ठभूमि निकै विवादित। अर्को विवादभन्दा निकै पर।
‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ फिल्मी क्षेत्रमा प्रभाव पार्न प्रयास गरिरहेकी छिन्। उनको अभिनय रहेको फिल्म ‘रंगी’ प्रदर्शनकोक्रममा छ। उनकै नाम अनि थर पनि मिल्ने अर्की अभिनेत्री नम्रता श्रेष्ठ उहिल्यै फिल्म ‘सानो संसार’ बाट अभिनयमा आइन र छोटो समयमै लोकप्रिय पनि भइन्।
तर उनका नितान्त व्यक्तिगत भिडियो सार्वजनिक हुँदा उनको कला यात्रामा नकारात्मक प्रभाव पर्यो। सङ्घर्ष गरेर पुन अभिनयमा फर्किइन्। अभिनेता सारुक ताम्राकारको आत्महत्या घटनामा जोडिएपछि उनी गुमनाम छिन्।
यता अभिनयमा आफ्नो क्षमता देखाउन प्रयासरत छिन् अर्की अभिनेत्री नम्रता श्रेष्ठ। सिनियर नम्रता श्रेष्ठका कारण गालीजति उनले खाने गरेकी रहिछिन्।
शुक्रवार काठमाडौँको रञ्जना हलमा फिल्म‘रंगी’को ट्रेलर रिलिज कार्यक्रममा उनले नाम जुध्दाका सकारात्मक र नकारात्मक दुवै अभिनय सुनाइन्। तर सकारात्मक भन्दा नकारात्मक पक्ष नै बढी रहेछ।
उनले ‘सानो संसार’ फिल्ममा अभिनय गरेकी हैनन्। तर दर्शक भेट्दा नाम सुनेर ‘तपाईँको फिल्म हेरेको थिए नि’ भन्ने रहेछन्। तर सिनियरको अभिनयका कारण कहिलेकाहीँ प्रशंसा आए पनि अधिकांश गाली नै खाएकी रहिछिन् जुनियर नम्रताले।
उनले फिल्ममा मात्र होइन, मिस नेपाल प्रतिस्पर्धाको बेलामा समेत आयोजकहरू झुक्किएको अनुभव सुनाइन्।
‘पहिल्यै कलाकार भइसकेको मान्छे किन मिस नेपालमा गाको हो पनि भन्नुहुन्थ्यो। यस्ता कुरामा म हाँसेर उडाइदिन्छु। गाह्रो त छ अलिअलि’ उनले भनिन्।
अहिले उनी सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’मार्फत डेब्यु गर्दैछिन् अभिनयमा। पछिल्लो समय कमेडी शो ‘कमेडी दरबार’मा होस्टका रूपमा काम गरिरहेकी छन्। उनले कमेडी दरबारको होस्ट भए पनि आफूलाई अभिनयमा रुचि भएको बताइन्।
माघ १८, २०८१ शुक्रबार १७:४९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।