क्रिप्टोमार्फत तीन अर्ब कारोबार गरेको आरोपमा भारतीयसहित समातिए सात युवा

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रवार कैलालीको बर्दगोरियाका २२ वर्षीय माइकल डगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठ–८ का पीयूष श्रेष्ठ, दोलखाको भीमेश्वरका १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौरका २२ वर्षीय सत्यमकुमार सहनी, भारत बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमारलाई सार्वजनिक गरेको हो।
प्रहरीले उनीहरूबाट बरामद भएको कम्युटरको सीपीयु २ वटा, विभिन्न ब्रान्डका मोबाइल १३ वटा, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरू १९ वटा र ५ लाख ५० हजार रुपैयाँ समेत सार्वजनिक गरेको थियो।
प्रहरीले डिजिटल फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मान्दै सो समूहले अहिलेसम्म तीन अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको दाबी गरेको छ। पक्राउ परेको समूहले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालित गरेर क्रिप्टोको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ।
उनीहरूले बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई झुक्क्याएर वालेटको आधिकारिक व्यक्ति भन्दै ओपीटी पिनहरू माग गरी अनधिकृत रूपमा बैंक तथा डिजिटल वालेटहरूमा पहुँच पुर्याई ठगी समेत गरेको प्रहरीको दाबी छ।
पक्राउ परेको समूह सामाजिक सञ्जालमा विज्ञापन गरेर लिङ्क पठाइ साइबर फिसिङ गर्ने, सामाजिक सञ्जालबाट विज्ञापन गरी आकर्षक जागिर दिने भन्दै बैंक खाता समेत खोल्न लगाई उक्त खातामा ठगी गरिएको रकम ट्रान्सफर गर्ने र ठगीको रकम क्रिप्टोमा लगानी गरेको प्रहरीको दाबी छ।
माघ १८, २०८१ शुक्रबार १६:५८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।