विधेयक अधिवेशनमा प्रशन्न देखिएका प्रधानमन्त्रीले प्रचण्डलाई खुसुक्क के भने ?

काठमाडौँ : विधेयक अधिवेशनमा रूपमा समेत लिइन् संघीय संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओली केही फरक चरित्रमा देखिए। प्रधानमन्त्रीका रूपमा होस् या एमाले अध्यक्षको रूपमा होस् उनको सम्बोधनमा घोचपेचको मात्रा अलि बढी नै हुन्थ्यो। तुक्का मिसाउने, कथनहरू ल्याएर प्रतिपक्षी रहँदा सत्तापक्षलाई घोचपेच गर्नु, सत्तापक्षमा रहँदा प्रतिपक्षी दलका नेतालाई घोचपेच गर्नु उनको देखिँदै आएको स्वभाव हो।
प्रतिनिधि सभामा प्रधानमन्त्रीको रूपमा सम्बोधन गर्दै आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका कामहरूबारे जानकारी दिन रोस्टममा जानु भन्दा अगाडि उनी निकै प्रशन्न देखिएका थिए। आफू बसेको ठाउँबाट उठेर रोस्टमसम्म पुग्नेक्रममा उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुस्स भलाकुसारी गर्नसम्म भ्याए।
शुक्रवारको प्रतिनिधि सभाको बैठकमा पनि उनले गीतका लाइन भन्न छुटाएनन्। तर शैली नरमै थियो। उनले प्रतिपक्षी दलका नेताहरू सरकार पुसमा ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो भन्दै हिँडिरहेको भन्दै 'म त ढलेँ ढलेँ' बोलको गीतको प्रसङ्ग संसद्मा सुनाए। उनले यो गीत अलि अश्लील हो कि भनेर भएको चर्चा पनि सुनेका रहेछन्।
उनले संसद्मा गीतको बोल झैँ सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर हिँड्न आवश्यक नभएको बताएका थिए। उनले यस्तो गीत मनोरञ्जनको मञ्चमा सुहाए पनि राजनीतिको मञ्चमा भने नसुहाउने बताए।
उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे ६ महिनाको अवधिमा भएका सकारात्मक परिवर्तनका सूचीहरू अगाडि सार्दा अर्थतन्त्रको सूचक र अध्यादेशमा जोड दिएका थिए। उनले आफ्नो समय सरकारले हालै ल्याएको अध्यादेशको औचित्य पुष्टि गर्न केन्द्रित गरे। बिचमा आफू अनि आफ्नो परिवारका सदस्यहरूबारे भइरहेको चर्चा र बहसमा समेत प्रवेश गरे।
कहिले टेलिकममा लगानी छ भनेर दुष्प्रचार गर्ने त कहिले स्विस बैंकमा पैसा छ भनेर चरित्रहत्या गर्ने अनि भ्रम फैलाउने काम भइरहेको भन्दै उनले यदि आफू कुनै भ्रष्टाचारमा संलग्न रहेको प्रमाण भए देखाउन चुनौती समेत दिएका थिए।

माघ १८, २०८१ शुक्रबार १५:०४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।