प्रधानमन्त्री ओलीले संसद्मा भने ‘ चरित्रहत्या गर्ने हैन, कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा भइरहेको ढिलाइका कारण सरकारले अत्यावश्यक कानुन बनाउनका लागि अध्यादेश ल्याएको दाबी गरे। शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले अध्यादेशको विरोध भएको तर्फ सङ्केत गर्दै सरकारले अध्यादेश ल्याए पनि त्यो ६० दिनभित्र पास हुनुपर्ने प्रावधान रहेको सम्झाएका थिए।
उनले अब नियमित रूपमा संसद्मा आएको विधेयक ६० दिनमा पारित गर्न आग्रह गर्दै यदि विधेयकहरू लामो समयसम्म संसद्मा अड्काएर राख्ने काम भए सरकारले वैकल्पिक बाटो अपनाउने भन्दै थप अध्यादेशको सङ्केत गरेका थिए।
उनले प्रतिनिधि सभामा सरकारले अध्यादेश मार्फत कानुन ल्याएर सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकेको र कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सक्नै पर्ने कानुनी व्यवस्था गरिएको बताए।
उनले नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको र यसबाट सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेकाहरू खुसी भएको भन्दै उनले अब नेपाली कम्पनीहरूलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउन सक्ने वातावरण बनेको बताए।
उपभोक्ता हित संरक्षण सम्बन्धी आपसमा बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको, प्रतिस्पर्धाको माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरेर उद्यमी व्यवसायीलाई अनावश्यक तर्साउने अवस्था हटाइएको र उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको उनको दाबी छ।
उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र यो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने, उद्यमीले कम्पनी खोल्न पाउने तर टाट फर्किँदा समेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था अन्त्य गरिएको उनले बताए।
उनले अहिले हावादारी कुरा गरेर भ्रम फैलाउने काम भइरहेको तर सरकारको कामको सकारात्मक आलोचना हुने नगरेको उनले बताए। सरकारलाई गल्ती गर्न नदिन प्रतिपक्षीले सचेत गराउनु पर्ने तर चरित्रहत्यामा केन्द्रित भएको उनको दाबी छ।
उनले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने भन्दै भने ‘कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्।’
माघ १८, २०८१ शुक्रबार १४:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।