१२ वर्षपछि घरेलु क्रिकेटमा ब्याटिङ गर्दै कोहली, पहिलो दिन २७ हजार समर्थक रंगशाला पुगे

एजेन्सी : भारतको घरेलु क्रिकेट रणजी ट्रफीमा विराट कोहली १२ वर्षपछि ब्याटिङ गरेका छन्। उनी अरुण जेटली मैदानमा रेलवेविरुद्ध दिल्लीबाट खेल्दैछन्।
राहुल शर्माको बलमा यश आउट हुने बित्तिकै दिल्लीका फ्यानहरू खुसी भएका थिए। त्यसको कारण एउटै थियो- विराट कोहली। उनी चौथो नम्बरमा ब्याटिङ गर्न आए।
तर, दर्शकको खुसी धेरै समय टिक्न पाएन। १५ बल खेलेका उनी हिमांशु सङ्वानबाट बोल्डआउट भए।
खेलको दोस्रो दिन शुक्रबार दिल्लीले पहिलो इनिङ्समा २ विकेट गुमाएर ७९ रन बनाएको छ। विराट कोहली १ र सनत सांगवान २९ रनमा अविजित छन्।
कोहलीको ब्याटिङ हेर्न ठूलो संख्यामा फ्यान पुगेका छन्। बिहानैदेखि रंगशाला बाहिर भिड जम्मा भएको थियो। दिल्लीले आज ४१/१ को स्कोरबाट खेल सुरु गरेको छ। पहिलो इनिङ्समा रेलवेको टोली २४१ रनमा समेटिएको थियो।
कोहलीको खेल हेर्न बिहान ४ बजेदेखि नै फ्यान आउन थालेका थिए।
पहिलो दिन बिहीबार खेल हेर्नका लागि अरुण जेटली स्टेडियममा २७ हजारभन्दा बढी फ्यान पुगेका थिए। भारतको घरेलु क्रिकेटमा उपस्थित यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो। भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो।
पहिलो दिन एक फ्यान सुरक्षा घेरा तोडेर मैदान भित्र पसेर कोहलीको खुट्टा पनि छोएका थिए। यसपछि सुरक्षाकर्मीले उनलाई तुरुन्तै समातेर मैदानबाट बाहिर निकालेका थिए।
तमिलनाडु विरुद्ध २००६ मा रणजी डेब्यू गरेका कोहलीले आफ्नो अन्तिम रणजी खेल २०१२ मा वीरेन्द्र सहवागको कप्तानीमा खेलेका थिए। खेल गाजियाबादको नेहरु स्टेडियममा भएको थियो।
माघ १८, २०८१ शुक्रबार ११:०९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।