अलैंची उत्पादन गरेर एकै वर्षमा छ करोडको कारोबार

गलकोट : बागलुङमा अलैंची उत्पादनमा वृद्धि भएको छ। क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैंची उत्पादन गर्न सफल भएका छन्।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैंची बिक्रीबाट एक आर्थिक वर्षमा छ करोड भित्र्याउन सफल भए। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैंचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नम्बर २ का कृषक बलिभद्र सापकोटाले बताए।
उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैंचीको मूल्य कम पाएका छन्। यहाँ प्रतिकेजी एक हजार २५० का दरले अलैंची बिक्री भएको छ।
उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ। अलैंची खेतीको विस्तारले यसलाई पुष्टि गरेको छ।
यहाँ आर्थिक वर्ष ०७८/७९ मा एक सय २८ हेक्टर जमिनमा अलैंचीखेती गरिन्थ्यो। जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो। प्रतिकेजी नौ सय ५० का दरले बेच्दा कृषकले तीन करोड ९९ लाखको कारोबार गरेका थिए।
आर्थिक वर्ष ०७९/८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो। त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो। अलैंचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए।
चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैंची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको एक सय ४० हेक्टर जमिनमा अलैंचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैंचीले उत्पादन दिन थालेको जानकारी दिए।
बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैंचीजोन’ निर्माण गरिएको छ।
चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताए। १२ अलैंची पकेट क्षेत्र र दुई वटा अलैंची ब्लकलाई समेटेर जोन स्थापना गरिएको छ।
यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैंची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताए।
अलैंची खेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ। कृषकले उत्पादन गरेको अलैंची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ।
माघ १७, २०८१ बिहीबार २०:२४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।