केपी ओलीजी बहुमत नपुग्ने देखेर ०८७ सालमा मात्रै संविधान शंसोधन हुन्छ भन्दै हिँड्नुभएको छ : शेखर

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन्।
नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र डेमोक्याटिक लयर्स एसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान शंसोधन, आवश्यकता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका बोल्दै कोइरालाले यस्तो बताए।
कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं। जहाँ महिला महिला नै लड्ने वातावरण नबनाऔं। दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं।’
कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए।
नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिँदै भने, ‘त्यो बेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो। त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो।’
उनले संविधान संशोधन सबैको सहमतिमा हुनुपर्ने कुरालाई जोड दिएका छन्।
‘यहाँ केपी ओलीजी बहुमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिँड्नुभएको छ। तर संविधान कांग्रेसको मात्रै हो र? एमालेको मात्रै हो र? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
डा. कोइरालाले न्याय परिषदमा भागबन्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे।
‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो। न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’ उनले भने।
माघ १७, २०८१ बिहीबार १९:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।