बिरामी महिलालाई उपचारका लागि काठमाडौं लैजाँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं : खोटाङ सदरमुकाम दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङकाअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौं हिँडेको थियो। आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौं जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजे सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जानकारी दिएका थिए।
सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन्। उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ।
सुमोमा चालकसहित चार जना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।
'सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो। घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ। चालक भेटिएका छैनन्। दुर्घटनाको कारण खुल्न सकेको छैन, उनले भने।
उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनै जनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन्।
माघ १७, २०८१ बिहीबार १५:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।