'माछी मार न हे बैनी' गाएर लोकप्रिय भएका नवीन जब अमेरिकी सेना बनेर बिन लादेनका फौजसँग भिड्न अफगानिस्तान पुगे

'माछी मार न हे बैनी' गाएर लोकप्रिय भएका नवीन जब अमेरिकी सेना बनेर बिन लादेनका फौजसँग भिड्न अफगानिस्तान पुगे

गायक तथा भूतपूर्व सैनिक नवीन ढुङ्गेल, उमेरले ६५ वर्ष पुगे पनि संगीतप्रति उनको उत्साह घटेको छैन। रेडियो नेपालमा गायन प्रतियोगितामा प्रथम भएसँगै गायन क्षेत्रमा पाइला चालेका उनले सेनाको जागिर खाँदै गर्दा पनि लोकगीतमा संलग्न भइरहे। 

नवीनले २०३७ सालमा रेडियो नेपालमा ‘काँचो कटहर, म जान्छु राङ खोला रोक मोटर’ गीत रेकर्ड गरे, जसले उनलाई गायकका रूपमा चिनायो।

त्यसपछि गायिका तीर्थकुमारी थापासँग ‘तालको माछा छेउ लाग्यो छल्काले’ र हिरादेवी राईसँग ‘माछी मार न हे बैनी, छैन नि ढडियाँ कसो गरुनी’ जस्ता चर्चित गीत गाए। यी गीतहरू अहिले पनि लोकप्रिय छन्।

तर, नवीनको गायन यात्रा त्यति सहज थिएन। सैनिक सेवामा रहँदा समय नहुँदा थुप्रै गीत गाउने अवसर गुमाए। देशको पञ्चायती व्यवस्था र सैनिकको निगरानीका कारण उनी चाहेर पनि रेडियो नेपालले दिएको मितिमा गीत गाउन जान सक्दैनथे।

एक पटक राम थापा र सुनिता सुब्बासँग सहकार्यमा गाउने अवसर पाए पनि समय नमिल्दा गाउँन पाएनन्। रेडियो नेपालले ६ महिनाको म्यादमा गीत रेकर्ड गर्न बोलाउँथ्यो, तर सैनिक तालिमका कारण राम्रा गीत गाउने अवसर गुमाए। 

सेनाबाट निवृत्त भएपछि नवीन विदेश गए। अमेरिका गएर सेनामा भर्ना भए र इराक, अफगानिस्तानजस्ता देशको युद्धमा सहभागी भए। अमेरिकन फौजको हिस्साका रूपमा उनी विद्रोही समूहसँग भिड्न पुगे।

त्यहाँ उनको भूमिका अन्डरग्राउन्ड सुरक्षा थियो। नवीनले आफ्नो जीवनमा धेरै अवरोध आए पनि गायनलाई निरन्तरता भने दिइरहे। उनले संगीत र सैनिक जीवन दुवैलाई सँगसँगै अघि बढाए। उनले उकेराको नियमित कोलम हिजोको कुराका लागि बाँडेको अनुभव :

गाउँको मादलले गीत-संगीतमा तान्यो

ओखलढुङ्गाको पोकली गाउँमा जन्मिएको म। अहिले लिखु गाउँपालिका वडा नम्बर ९ पर्छ मेरो जन्मस्थल। मैले त्यो बेलामा देखेको ओखलढुङ्गा र अहिले खासै परिवर्तन देखिन। पहिला गाडी जाँदैनथ्यो, अहिले अलिअलि गाडी जान्छन्। यति हो परिवर्तन।

मेरो बाल्यकाल गाउँका अन्य केटाकेटीझैँ गोठालोबाटै सुरु भयो।  गाउँमा गाईबस्तु चराउनु सामान्य नै हो। गाउँमा स्कुल थियो। कक्षा ७ सम्म उतै पढेको हो।

त्यहाँ कक्षा ७ भन्दामाथि थिएन। अनि कसो कसो मेरो मिलेर शहर (काठमाडौँ) पसियो। शहर पसेपछि एसएलसी दिए। २०३५ सालमा एसएलसी दिएपछि तत्कालीन शाही नेपाली सेनामा सिपाहीमा भर्ती भए।

२०५६ सालसम्म सेनामा जागिर खाएँ। त्यसपछि मन लागेन। अनि छाडे। सेना छाड्दा जुनियर अधिकृत थिएँ।

२०३७ सालमै गीत रेकर्ड

म स्कुलमा पढ्दादेखि नै गीत गाउँथेँ। मज्जाले मादल बजाइन्थ्यो,गाइन्थ्यो अनि आफैँ नाचिन्थ्यो। २०३७ सालमा हो मैले एसएलसी दिएको हो। २०३७ सालमै रेडियो नेपालमा गीत गाउने मौका मिल्यो। ‘काँचो कटहर, म जान्छु राङ खोला रोक मोटर’ बोलको गीत गाएँ।

रेडियो नेपालमा त्यतिकै गीत गाउन पाइँदैनथ्यो। कि राम्रै चिनजान हुनुपर्यो। तर चिने पनि स्वर परीक्षा त पास गर्नुपर्थ्यो। कि रेडियोले आयोजना गर्ने प्रतियोगितामा जित्न सक्नुपर्थ्यो। लोकगायन प्रतियोगितामा प्रथम भएपछि मात्र हो मैले गीत गाउन पाएको।

रेडियो नेपालमा गायन प्रतियोगीता हुँदैछ भनेपछि सबैले फारम भर्थे,सहभागिता जनाउँथेँ। त्यो बेलामा शास्त्रीय गायन प्रतियोगिता, भजन प्रतियोगिता, लोकगीत प्रतियोगिता लगायत सधैँ विधाका प्रतियोगिता हुन्थ्यो।

त्यहीँबाट पहिलो, दोस्रो र तेस्रोमा छनोट भएकाहरूले रेडियो नेपालमा गीत गाउने अवसर पाउँथे। पैसा पर्दैनथ्यो, उल्टै आउँथ्यो।

प्रजातन्त्र दिवस र पृथ्वी जयन्तीको उपलक्ष्यमा रेडियो नेपालले आयोजना गरेको लोकगीत गायक प्रतिस्पर्धामा म पनि सहभागी भएको थिएँ। मैले ओखलढुङ्गा जिल्लाको प्रतिनिधित्व गरेको थिएँ। प्रथम भएछु।

प्रतियोगितामा सहभागी भएर गीत गाएर फर्किइयो। आफू के भइयो भन्ने जान्ने माध्यम रेडियो नेपालको समाचार वा गोरखापत्र र राइजिङ नेपालका समाचार नै थियो। अर्को भनेको सिंहदरबारको भित्तामा नतिजा टाँसिएको हुन्थ्यो।

रेडियो नेपालको समाचारबाट म लोकगीत प्रतियोगितामा प्रथम भएको थाहा भयो। अनि गीत गाउने मौका पाइयो।

घर सोध्ने नै धेरै

त्यतिबेला रेडियो नेपालमा चिनेको,जानेको कोही थिएनन्। गाउँबाट आएको। आफन्त कोही थिएनन्। चिन्नु पनि कसरी। गीत गाउन थालेपछि भने परिचित हुँदै गइयो।

म सहभागी प्रतियोगिताको निर्णायकहरूमा नातिकाजी, शिवशङ्कर, धर्मराज थापा, कोइलीदेवी, तारादेवी लगायत हुनुहुँदो रहेछ। पछि पो थाहा भयो।

रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गीत गाएको हो मैले। गीत गाएर स्टुडियोबाट बाहिर निस्किदा ‘तिम्रो घर कहाँ हो भनेर सोध्नेहरु टन्नै थिए।

गीत सुनेर धाप मार्नुभयो।

मैले गीत गाइसकेपछि साथीभाइहरू त दङ्गै परे। ओहो तँ पनि गायक भइछस् भने। मैले देखेको त मादल मात्रै थियो। सारङ्गी,गितार त रेडियो नेपालमा नै देखेको हो।

पहिलो पुरस्कार नै एक हजार

त्यतिबेला म नेपाली आर्मीको सिपाहीमा भर्खर भर्ती भएको थिए। बाहिर धेरै हिँड्न पाइँदैनथ्यो। रेडियोको प्रतियोगितामा प्रथम भएपछि आफ्नो युनिटको हाकिमबाट ‘गते,बार खुलाएर सञ्चारमन्त्री,दरबारबाट रानीको उपस्थितिमा पुरस्कार पाउँदै छौँ, राम्रो पोसाक लगाएर जानु’ भन्ने निर्देशन आएको हो।

त्यतिबेला के लुगा हुन्थ्यो र। जे छ त्यसैलाई मिलाएर चट्ट पारेर गएँ। प्रथम पुरस्कार स्वरूप प्रमाणपत्र सहित एक हजार रुपैयाँ दिइयो।

सिपाहीको तलब मासिक सय रुपैयाँ आउँथ्यो। पुरस्कारमा नै हजार रुपैयाँ पाएँ। केहीले तपाईँको गीतमा मैले बाजा बजाएको हो नि भने। पुतलीसडकमा रहेको खाजा घरमा ५० रुपैयाँ खर्च गरेर अघाउन्जेल सबैलाई खाजा खुवाए।

रेडियो नेपालको नमिठो रोग

त्यतिबेला रेडियो नेपालमा एउटा नराम्रो रोग भने थियो। गीत गाउन पाइन्छ कि भनेर बाहिरबाट राम्रा राम्रा गीतहरू बोकेर आउँथे।  त्यो गीत रेडियोमा कर्मचारी भएर बसेका गायकहरूले आफ्नो नाममा गाइदिन्थे। गीत ल्याउनेको नामोनिसान हुन्थेन।

स्रष्टाको मिहेनत खेर जान्थ्यो। कसैले आफ्नो गीत अरूले नै गाएको चाल पाएर गुनासो गर्न गए भने रचनाकारमा नाम राखिदिन्थे। डराएर वा थाहै नपाएकाहरूको गीत अर्कैको नाममा हुन्थ्यो।

म गाउँघरमा भाकाहरू सङ्कलन गरेर आउँथेँ। रेडियो नेपालका कर्मचारीहरु सहकार्य गरौँ न भनेर पछि लागिहाल्थेँ। ‘भाइ यो गीत सँगै गाउन है’ भन्थेँ।

राम थापा, सुन्दर श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, रामशरण नेपाली,प्रवीण गुरुङ लगायतसँग सहकार्य पनि भयो। मैले सङ्कलन गरेको भाका सुनेर उहाँहरूले नै सँगै गीत गाउँ न है भनेर आउनु भएको हो। अरू पनि टन्नै आएका थिए।

त्यति बेलाका हिरादेवी राई, ज्ञानु राणा, रचना जिसी, तारा थापा,मिरा राणा,तीर्थ कुमारी लगायतहरु नै सँगै गीत गाउँ न भन्दै पछि लाग्थेँ।

नयाँ भाका केही ल्यायो कि पछि लागिहाल्ने। समस्या के भने उनीहरू गाउँ घुमेर नयाँ भाका ल्याउन नसक्ने। अब म त गाउँकै मान्छे। गाउँघर जाँदा यताउता घुमेर नयाँ भाका ल्याउँथे। उनीहरू लोभ गर्थे।

तर रेडियोमा आजको भोली गीत रेकर्ड हुँदैनथ्यो। ६ महिनाको डेट दिएको हुन्थ्यो। रेडियोको कर्मचारी भइसकेका गायक अनि गायिकाहरूले त्यो डेटमा को आउँदै छ भनेर अघिबाटै खोजी गर्न थालिहाल्थेँ। अनि सँगै गीत गाउन खोज्ने।

तीर्थकुमारी थापासँग थुप्रै गीत गाएँ। ‘तालको माछा छेउ लाग्यो छल्काले’ बोलको गीत गाएको थिएँ। हिरादेवी राईसँग ‘माछी मार न हे बैनी,छैन नि ढडिया कसो गरुनी’गाएँ। यी दुवै त्यतिबेला खुब चलेको थिए। यो गीत गाएको पनि ४५ वर्ष भइसक्यो।

छुट्टी नपाउँदा धेरै गीत छुटे

सेनामा जागिर खाएर गीत गाउन निकै गाह्रो। भनेको बेलामा छुट्टी नै मिल्दैनथ्यो। पञ्चायत व्यवस्था थियो। बाहिर धेरै हिँड्यो भने यो अराष्ट्रिय तत्त्वसँग,विद्रोही सङ्गठनतिर संलग्न छ कि, भित्रको कुरा बाहिर सुराकी लैजान्छ कि भनेर निगरानी राख्थे।

एक दिन छुट्टी मिलाउन महिनौँ दिनदेखि अनुरोध गर्नुपर्थ्यो। तै पनि गाह्रो। बल्ल बल्ल गीत गाउने डेट मिलेको हुन्छ। त्यो बेला नगए फेरी ६ महिना कुर्नै पर्ने।

छुट्टी नमिलेर धेरै राम्रा गीत गाउन पाइएन रेडियोमा। राम थापा र सुनिता सुब्बाले गाउनु भएको गीत‘रेलै घुमेर,गयो बैनीको आधी उमेर’मा सहकार्य गर्ने कुरो थियो। राम थापाले स्वरको क्वालिटी लेभल मिल्छ नवीन जी,तपाई र मसँगै गाउनुपर्छ है भन्नुभएको थियो। अभ्यास पनि गरेका थियौँ। तर बिदै पाइएन।

त्यो यो गीत रेकर्ड गर्न डेट मिल्दा म दाङको घोराहीमा थिएँ। म फर्किएर आउँदा राम थापाले हत्तेरिका तपाई नभएर हाम्रो डेट झन्डै फुस्केको भन्नुभयो।

अर्को, गोपाल योञ्जन दाइको सङ्कलनमा पदम विष्ट,प्रेमराजा महत लगायतले समूहमा गाउनु भएको ‘साइली धनरी बनमा’बोलको गीत सँगै गाउन धेरै अभ्यास गरियो। रेकर्ड हुने बेलामा म मोरङतिर पुगेँ।

पछि योञ्जन दाइको स्टुडियोमा गाउन त गाइयो। तर रेडियो नेपालको डेटमा गाउन पाइएन। यस्ता घटना धेरै नै छन्।

अनि लागेँ अमेरिका

२०५६ सालमा मैले नेपाली सेनाको जागिर छाडेर अमेरिका गएँ। उतै सेनामा भर्ती भए। अमेरिकी सेनामा भर्ती भइसकेपछि इराक र अफगानिस्तानमा जानुपर्यो।

त्यो बेलामा इराकमा सद्दाम हुसेन समूहसँग भिड्नुपर्यो। अब सेनामा भर्ना भएपछि भिडेँ पनि। उता अफगानिस्तानमा  विन लादेनको समूहविरुद्ध सैन्य अप्रेसन भयो। त्यहाँ पनि सहभागी भएँ।

अमेरिकी सेना भए पनि ब्रिटिसको फोर्ससँग मिलेर अफगानिस्तान गएको। पद तोकेर दिँदैनथे। सबसेक्युरेटीज् अफिसर भन्थे। दुवै भिडन्तमा गएर फर्किएपछि त्यताको सेनाको जागिर पनि छाडेँ।

माघ १७, २०८१ बिहीबार १३:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।