अमेरिकामा विमान दुर्घटना, १८ जनाको शव निकालियो
![अमेरिकामा विमान दुर्घटना, १८ जनाको शव निकालियो](https://ukeraa.prixacdn.net/media/albums/usa-crash-washingtondc_l1XTgLEO6m.jpg )
एजेन्सी : अमेरिकाको वासिङ्टन डिसी नजिकै बुधबार राति यात्रुवाहक विमान र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा १८ जनाको शव निकालिएको छ।
रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान र सेनाको ब्ल्याक हक हेलिकप्टर आपसमा ठोक्किएर पोटोम्याक नदीमा खसेको युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले पुष्टि गरेको छ।
स्थानीय समयअनुसार बुधबार राति नौ बजे विमानस्थलको धावनमार्ग नजिकैको आकाशमा ठोक्किँदा जहाज र हेलिकप्टर पोटोम्याक नदीमा खसेको थियो।
विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य सवार हुँदा हेलिकप्टरमा तीन सैनिक सवार थिए। हालसम्म १८ जनाको मृत शव निकालिएको छ।
अवतरणको अन्तिम चरणमा हेलिकप्टरसँग ठक्कर खाँदा विमान दुर्घटना भएको त्यहाँको सरकारी एजेन्सीले जनाएको छ।
एफएएले भनेको छ, ‘घटनाको तत्काल विवरण अनुसन्धान अधीन छ। हामी पीडित परिवारसँग समन्वयमा छौं।’
सुरक्षा अधिकारीले नदीमा खसेका दुवै विमानको अवशेष फैलिएको बताउँदै डाइभर र सर्चलाइट प्रयोग गरी शव निकाल्ने काम जारी रहेको उल्लेख गरेको छ।
शव निकाल्ने क्रम र अवशेष सङ्कलन कार्य रातभर जारी छ। यात्रु विमानको ब्ल्याक बक्स (उडान डाटा रेकर्डर) खोज्ने प्रयास समेत गरिएको छ।
माघ १७, २०८१ बिहीबार १२:४५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।