वासिङ्टन डिसीको आकाशमै ठोकिए विमान र हेलिकप्टर

एजेन्सी : अमेरिकाको वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थलबाट उडेको एक निजी विमान र हेलिकप्टर आकाशमै ठोकिएका छन्।
स्थानीय समयानुसार राति ९ बजे पोटोम्याक नदी क्षेत्रमा भएको यस दुर्घटनामा विमान र हेलिकप्टर नदीमा खसेका छन्। संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु गरेको छ।
दुर्घटनाको तत्काल प्रतिक्रियास्वरूप रेगन विमानस्थलले सबै उडान सेवा अस्थायी रूपमा बन्द गरेको छ। विमानस्थलले आफ्नो आधिकारिक ट्विटर खाताबाट यसको जानकारी सार्वजनिक गरेको हो।
अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ।
घटनास्थलमा डीसी फायर-रेस्क्यू र आपतकालीन चिकित्सा सेवा (ईएमएस) को टोली पुगेको छ। स्थानीय प्रहरीले दुर्घटनाको कारण र पीडितको संख्याबारे अनुसन्धान सुरु गरेको बताएको छ।
डीसी फायर-ईएमएस विभागले सोसियल मिडिया प्लेटफर्म एक्समा जानकारी दिँदै भनेको छ, ‘फायरबोट र डाइवरहरूले नदीमा खोजी अभियान गरिरहेका छन्।’
घटनास्थलमा एक दर्जनभन्दा बढी एम्बुलेन्स र दमकलको टोली तैनाथ छन्।
यस घटनाले वासिङ्टन डिसी क्षेत्रको यातायातमा असर पारेको छ भने उड्डयन प्रशासनले विमान दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
माघ १७, २०८१ बिहीबार ०९:३३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।