ट्रम्पद्वारा यहूदीविरोधी घटना रोक्न कार्यकारी आदेश जारी, हमाससमर्थक विद्यार्थीको भिसा रद्द गर्ने घोषणा
![ट्रम्पद्वारा यहूदीविरोधी घटना रोक्न कार्यकारी आदेश जारी, हमाससमर्थक विद्यार्थीको भिसा रद्द गर्ने घोषणा](https://ukeraa.prixacdn.net/media/albums/trump_uQ5qe62LVY.jpg )
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका शैक्षिक संस्थाहरूमा यहूदीविरोधी भावना घटाउन एउटा कार्यकारी आदेश जारी गरेका छन्।
बिहीबार जारी गरिएको आदेशमा प्यालेस्टाइको समर्थनमा विरोध प्रदर्शनमा सहभागी गैर-अमेरिकी नागरिकहरूलाई निर्वासन गरिने उल्लेख छ।
अक्टोबर २०२३ मा हमासले इजराइलमा गरेको आक्रमणपछि अमेरिकाका विद्यालय तथा विश्वविद्यालयहरूमा यहूदीविरोधी घटनाहरू बढेको ट्रम्पले बताएका छन्।
यो आदेशमा यस्ता घटनाहरूलाई गम्भीर रूपमा लिएर यहूदीविरोधी उत्पीडन र हिंसाका घटनाहरूमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानूनी कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ।
ट्रम्पले स्पष्ट रूपमा भने, ‘जो व्यक्तिहरू यहूदीविरोधी प्रदर्शनमा संलग्न छन्, तिनीहरूलाई हामी पत्ता लगाएर निर्वासन गर्नेछौँ।’
कलेज क्याम्पसहरूमा हमासप्रति सहानुभूति राख्ने विद्यार्थीहरूको भिसा तुरुन्त रद्द गर्ने घोषणा समेत उनले गरेका छन्।
उनले थपे, ‘जो विद्यार्थीहरू पहिले नै कट्टरपन्थी समूहहरूसँग जोडिएका छन्, उनीहरूको पनि भिसा रद्द गरिनेछ।’
यस आदेशले अमेरिकी शिक्षण संस्थाहरूमा यहूदी विद्यार्थी तथा समुदायविरुद्ध बढ्दो घृणा र हिंसाको मुद्दालाई केन्द्रमा राखेको छ।
ट्रम्प प्रशासनले यसबाट यहूदी समुदायलाई सुरक्षा प्रदान गर्ने र आप्रवासी कानूनलाई कडा बनाउने संकेत दिएको छ।
माघ १७, २०८१ बिहीबार ०९:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।