महाकुम्भमा भागदौड हुँदा ३० जनाको मृत्यु, २५ जनाको पहिचान खुल्यो

महाकुम्भमा भागदौड हुँदा ३० जनाको मृत्यु, २५ जनाको पहिचान खुल्यो

एजेन्सी : भारतको उत्तरप्रदेश (यूपी)को प्रयागराजस्थित महाकुम्भ मेला चलिरहेको संगम किनारमा मंगलबार राति भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ।

यूपी सरकारले बुधबार साँझ यसको पुष्टि गर्दै २५ जनाको पहिचान गरेको छ। मृतकहरूमा १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका र गुजरात र असमका एक-एक जना भक्तहरू समावेश छन्।

मेला प्रशासनका अनुसार, घाटका केही ब्यारिकेडहरू भत्किएपछि केही मानिसहरू भुइँमा सुतिरहेका भक्तजनमाथि चढेका थिए। यसपछि भागदौड मच्चिएको थियो।

दुर्घटनाका कारण १३ अखाडाले बिहानको सट्टा साँझ अमृतस्नान गरेका थिए। मौनी अमावस्याको दिन राति ८ बजेसम्म ७.६४ करोड भक्तजनले स्नान गरेका थिए। १३ जनवरीदेखि हालसम्म २७.५८ करोड भन्दा बढी मानिसहरूले महाकुम्भमा डुब्न सकेका छन्।

भीडलाई ध्यानमा राख्दै प्रयागराजका ८ वटा प्रवेश नाका (भदोही, चित्रकूट, कौशाम्बी, फतेहपुर, प्रतापगढ, जौनपुर र मिर्जापुर नाका) बन्द गरिएको थियो। पूरै मेला क्षेत्रलाई फेब्रुअरी ४ सम्म सवारी निषेधित क्षेत्र घोषणा गरिएको छ।

सबै सवारी पास रद्द गरिएको छ। मेलामा कुनै पनि वीआईपी प्रोटोकल रहने छैन।

माघ १७, २०८१ बिहीबार ०८:०५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।