‘कमेडी दरबार’बाट किन बाहिरिदै छन् विजय बराल?

‘कमेडी दरबार’बाट किन बाहिरिदै छन् विजय बराल?

काठमाडौं : प्राइम टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी शो ‘कमेडी दरबार’बाट अभिनेता विजय बराल बाहिरिने भएका छन्। एकपछि अर्को फिल्ममा काम गर्नुपर्ने भएकाले सेड्युलको समस्या देखाउँदै उनी बाहिरिन लागेका हुन्। उनी कमेडी दरबारमा ‘जज’को भूमिकामा निर्वाह गर्दै आएका छन्। 

उकेरासँगको कुराकानीमा उनले आफूले फिल्ममा व्यस्त हुनुपर्ने भएकाले कमेडी दरबार छाड्न लागेको बताए। 

उनले भने, ‘मैले फिल्ममा समय दिनुपर्ने भएकाले कमेडी दरबारमा समय दिन नभ्याउने हुँदा बाहिरिन लागेको हुँ। मैले यो बारेमा शोका अध्यक्षलाई पनि जानकारी गराइसकेको छु। बुधबारको शो सुटिङपछि के हुन्छ थाहा छैन। सायद अध्यक्षज्युले विचार गर्नुहुन्छ होला।’

उनले यो शोमा २६ भाग सम्मका लागि एग्रिमेन्ट गरेको बताए। 

अहिलेसम्म कमेडी दरबारको २२ एपिसोड प्रसारण भइसकेको छ। अब चार भाग काम गरेपछि विजय बराल बाहिरिने छन्। 
 
फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ब्लकबस्टर बनेसँगै उनको डिमान्ड बढेको हो। उनी आफ्नो मुख्य भूमिका रहने फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भइसकेका छन्। यो बाहेक उनी ‘वरिष्ठ बलराम’,‘कबड्डी’लगायतका फिल्ममा काम गर्दैछन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘लाज शरणम’ फागुन २ देखि प्रदर्शनमा आउने भएकाले प्रमोसनमा लाग्नुपर्ने छ।
 
‘कमेडी दरबार’ गत असार १४ देखि प्रसारणमा आएको थियो। यो शोलाई कमेडियन बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरिरहेका छन्। 

‘कमेडी दरबार’मा गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्। शोको पर्फमरका रुपमा अभिनेत्री नम्रता सापकोटा, पबित्रा शाकीसँगै कमेडियन हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायत रहेका छन्। नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छन्।   

माघ १६, २०८१ बुधबार २०:५८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।