महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा नीला आँखा र मीठो मुस्कानले भाइरल, फिल्मको समेत अफर !
![महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा नीला आँखा र मीठो मुस्कानले भाइरल, फिल्मको समेत अफर !](https://ukeraa.prixacdn.net/media/albums/monalisa_bhosle_b736oJjC78.jpg )
एजेन्सी : भारतमा चलिरहेको महाकुम्भ मेलामा एक माला बेच्ने किशोरी आफ्नो सुन्दरताका कारण भाइरल छिन्। भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा माला बेच्दै गरेकी युवती आकर्षक नीला आँखा र मीठो मुस्कानले अहिले देशविदेशमा भाइरल छिन्।
ती हुन् मोनालिसा भोस्ले, जसलाई भाइरल मोनालिसाको नाम दिइएको छ। सामाजिक सञ्जालमा उनको तुलना मोनालिसासँग भइरहेको छ।
महाकुम्भ मेलामा उनी रुद्राक्ष र क्रिस्टल माला बेच्ने बेच्दै भेटिएकी थिइन्। त्यही बेला उनको सौन्दर्यमा लोभिएका केही मान्छेले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरे। भिडियो रातारात भाइरल भयो।
मोनालिसा भाइरल भएपछि मानिसहरू उनको नाम, परिवार, पारिवारिक पृष्ठभूमि, जीवनबारे जान्न उत्सुक छन्। त्यतिमात्र हैन, अहिले उनलाई सिधै फिल्मको अफरसमेत आएको बताइन्छ।
मिडिया रिपोर्टहरूका अनुसार चलचित्र निर्देशक सनोज मिश्रले आफ्नो आगामी चलचित्र द डायरी अफ मणिपुरमा मुख्य अभिनेत्रीको रुपमा काम गर्न उनलाई प्रस्ताव गरेका हुन्। मिश्रले यसअघि ‘दी डायरी अफ वेस्ट बंगाल’ र ‘रामकी जन्मभूमि’जस्ता फिल्म निर्देशन गरेका छन्।
मोनालिसा र उनको परिवारले यो फिल्म गर्न राजी भएका छन्।
व्यापारमा बाधापछि घर फर्काइयो
उनी जब रातारात भाइरल भइन्, महाकुम्भ मेलामा गएका सबैले उनीसँग फोटो र भिडिओ बनाउन थाले।
उनलाई हेर्नकै लागि भीड जम्मा हुन थाल्यो। यो सबै व्यवस्थापन गर्ने क्षमता उनको परिवार र उनीमा थिएन। किनकि उनी सामान्य परिवारकी हुन् र महाकुम्भ मेलामा मालाको व्यापार गर्न आएकी थिइन्।
उनीसँग सेलिब्रेटीले जसरी पाउने सुरक्षा थिएन। केही पुरुषले उनलाई कुदृष्टि राख्दै पछ्याउने गर्न थाले। एउटा भिडिओमा केही पुरुषहरू उनको पछि लागेको र सुरक्षाको लागि आफ्नो बहिनीले तानेको देख्न सकिन्छ।
उनी भिडबाट लुक्नको लागि पछ्यौरीले मुख छोप्दै गरेको देखिएकी छिन्। धेरैले उनलाई नेम र फेमको लागि मेकअप गरेको भिडिओ पनि भाइरल नै छन्।
भाइरल हुने चाहनाले उनको प्रयोग धेरैले गरेको प्रस्टै देख्न सकिन्छ। जो उनको व्यवसायको लागि घाटा बन्यो। यहीकारण पनि बुवा विजयले उनलाई घर फर्काउने निर्णय लिए।
भाइरल भएपछि फोटो खिच्न र अन्तर्वार्ता लिन दिनभर युट्युबर लगायतको भिड लागेपछि उनी त्यहाँबाट फर्किसकेकी छन्।
दैनिक भास्करसँगको कुराकानीमा उनले भाइरल भएपछि आफ्नो व्यापार चौपट भएको र भाडा समेत अरूलाई मागेर फर्किएको बताएकी छन्। महाकुम्भमा मोनालिसा बसेको टेन्टमा समेत मानिसहरू प्रवेश गरेपछि अवस्था तनाव ग्रस्त समेत बनेको थियो।
माघ १६, २०८१ बुधबार १८:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।