हरर फिल्मले दर्शक नतर्साएपछि प्रियंकाको दुखेसो 'निर्देशकले स्क्रिप्टको ५० प्रतिशत पनि पर्दामा उतार्न सकेनन्'

काठमाडौं : हरर फिल्मका लागि निर्माताको रोजाइमा परिरहने अभिनेत्री प्रियंका कार्कीले ‘आवरण’, ‘माला’,‘चि मुसी चि’ र पछिल्लो समयको फिल्म ‘ममी’मा अभिनय गरिसकेकी छन्। ‘ममी’बाहेक अन्य तीन वटा फिल्म प्रदर्शन भइसक्दा तिनै वटाले हलमा दर्शक तर्साउन सकेनन्। बरू तर्साउने ठाउँमा दर्शक हाँसे। प्रियंका आफैंले पनि यो कुरालाई स्वीकार गर्दै आएकी छन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ममी’को गीत रिलिज कार्यक्रममा समेत उनले आफ्नो हरर फिल्म हेरेर आफै हाँसेको भन्दै मिडियालाई मसला दिइन्। उनलाई कुनै पनि लेखक तथा निर्देशकले स्क्रिप्टको ५० प्रतिशत पनि पर्दामा उतार्न नसक्ने गरेको बताइन्। पत्रकारसँगको कुराकानीमा स्क्रिप्टमा लेखेको ५० प्रतिशत पनि पर्दामा नआएकाले यस्ता फिल्मले दर्शक तर्साउन नसकेको उनको दाबी छ।
स्क्रिप्ट पढ्दा लोभ लाग्ने तर फ्लोरमा गएको तीन दिनमै कथालाई अन्तै दौडाउने गरेको र आफूले स्क्रिप्टमा देखेको फिल्म नबन्नेजस्तो लाग्ने गरेको प्रियंकाको दुखेसो रह्यो। आफूलाई यो फिल्म स्क्रिप्ट अनुसार नबन्ने भइसकेपछि बाध्य भएर नै काम गर्नु परेको र कन्ट्राकमा बाँधिनु परेको उनले सुनाइन्।
उनले आफूले खेलेको तीन वटा फिल्मले दर्शक तर्साउनको साटो हँसाएको भनेर जान्दा जान्दै फेरि अर्को हरर जनराको कथामा निर्माण भएको फिल्म ‘ममी’मा अभिनय गरेकी छन्। जुन यहीँ माघ २५ बाट हलमा लाग्दैछ। हरर जनरामा निर्माण हुने जस्तो फिल्म आए पनि भटाभट काम गरिरहेकी छन् प्रियंका। आखिर किन त्?
बुझिए अनुसार उनले फिल्म ‘ममी’मा पारिश्रमिक नै नलिइकन काम गरेकी छिन्। हल्ला बाहिर यस्तै छ।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा प्रियंका र दीया मास्केसँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारले अभिनय गरेका छन्।
समर निरौलाको लेखन तथा निर्देशन रहेको फिल्मको लोकराज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेका छन्।
माघ १६, २०८१ बुधबार १७:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।