मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। उक्त समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन बुझाए।
कार्ययोजनाका आधारमा मन्त्रिपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताएका थिए। प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ।
मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलको तयारी छ।
माघ १६, २०८१ बुधबार १५:०५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।