ऊर्जामन्त्रीविरुद्धको उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा कोरमै पुगेन, हाजिर लगाएर हिँडे सांसद

ऊर्जामन्त्रीविरुद्धको उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा कोरमै पुगेन, हाजिर लगाएर हिँडे सांसद

काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुग्दा स्थगित भएको छ।

बुधबार बिहान ११:३० बजेका लागि निर्धारित बैठक कोरम पूरा नहुँदा स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिएका छन्।

बैठकमा कांग्रेसका ८ जना सांसदमध्ये राजेन्द्र बजगाईं र कल्पना चौधरी गरी दुई जना मात्र उपस्थित भए। अन्य पार्टीका सांसदहरूको उपस्थिति पनि न्यून रह्यो।

२६ सदस्यीय समितिमा जम्मा १२ जना सांसद उपस्थित थिए। कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी, र सीता गुरुङ अनुपस्थित थिए।

हाजिरी लगाएका कांग्रेस सांसदहरू एजेन्डामा प्रवेश नगरी बाहिरिएका थिए।

बैठक मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न बोलाइएको थियो। मन्त्री खड्काले ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा उजुरी परेको थियो।

माघ १६, २०८१ बुधबार १४:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।