प्रोटनको इभी कार नेपाली बजारमा ल्याइँदै

प्रोटनको इभी कार नेपाली बजारमा ल्याइँदै

काठमाडौं : जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ।

मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो।

प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ। प्रोटन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन्।

प्रोटन ‘इमास ७’ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ।

जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ।

यी मूल्याङ्कनहरूले ‘इमास ७’ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ।

हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ।

माघ १६, २०८१ बुधबार १३:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।