बाढीपहिरो प्रभावितको लागि इनड्राइभको सहयोग
एजेन्सी : ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार पाँच सय सहयोग गरेको हो।
पीडितहरूको आवश्यकता पूरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरिरहेको हो।
नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरू निर्माण भइरहेका छन्।
यी आवासहरू जाडो गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरेको बताइएको छ। घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वडा नं.१० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायका मानिसहरूलाई सहयोग गर्ने र आवश्यकता अनुसार दिगो समाधान प्रदान गर्ने कुरामा विश्वास राख्ने बताए।
उनले भने, ‘राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ।’
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले सन् २०३० को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरे।
‘दिगो समाधान र अर्थपूर्ण कामहरू मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ,’ उनले भने, ‘यस सहकार्यले हाम्रो विश्वासलाई मुर्तरुप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरूले आफ्नो जीवन नयाँ तरिकाले सुरूवात गर्न सक्नेछन्।’
माघ १६, २०८१ बुधबार १३:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।