भारतको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

भारतको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतको प्रयागराजस्थित संगम तटमा लागेको कुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ। ५० भन्दा बढी घाइते भएका छन्।

प्रयागराजको स्वरूपण अस्पतालमा कुम्भ मेलाबाट पोस्टमार्टमका लागि १४ शव ल्याइएको भारतीय सञ्चामाध्यम भास्करले जनाएको छ। यद्यपि, मृतक वा घाइतेको संख्याबारे प्रशासनले आधिकारिक जानकारी दिएको छैन।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै स्थानमा अमृत स्नान रद्द गरिएको छ। अत्यधिक भीडका कारण यस्तो निर्णय लिनुपरेको स्थानीय आयोजकले जनाएको छ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा घटनाको जानकारी लिए।

ग्राउन्ड जिरोमा उपस्थित दैनिक भास्करका संवाददाताका अनुसार संगम नाकमा अफवाहका कारण भागदौड मच्चिएको हो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू उनीहरूमाथि दौडे।

दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम तट पुगेका थिए। घाइते र मृतकलाई अस्पताल लगिएको छ।

दुर्घटनापछि संगम तटमा एनएसजी कमाण्डो परिचालन गरिएको छ। त्यहाँ सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ।

प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ।

मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। पूरै सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

माघ १६, २०८१ बुधबार ०८:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।